काठमाण्डु – प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिस्पर्धा गरिरहेका दलहरू मध्ये चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।निर्वाचन आयोगका अनुसार आइतबारसम्म ७ वटा दलले निर्वाचन घोषणापत्र सार्वजनिक गरेको हाे ।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), उज्यालो नेपाल पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।
नेपाली कांग्रेसले फागुन ६ गते मधेश प्रदेशको राजधानी जनकपुरबाट घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ भने एमालेले फागुन ७ गते सम्ममा घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जसपा–नेपालले यसअघि नै आफ्ना घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।
निर्वाचन आयोगले फागुन ३ गते भित्र घोषणापत्र सार्वजनिक गर्न दलहरूलाई निर्देशन दिएको थियो ।निर्वाचन आचारसंहिता अनुसार निर्वाचनमा सहभागी हुने दलहरूले आफ्नो घोषणापत्र आयोगमा बुझाउनुपर्ने तथा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारी दिएका व्यक्तिहरूले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा घोषणापत्र पेश गर्नुपर्ने व्यवस्था छ ।
रास्वपाले ‘प्रतिबद्धता पत्र’ सार्वजनिक गर्दै सामाजिक न्यायसहितको उदार अर्थतन्त्र, प्रदेश संरचनामा सुधार, समावेशी प्रतिनिधित्व र सनातन सभ्यताको सम्मान गर्ने प्रतिवद्धता जनाएको छ ।
उसले भ्रष्टाचारविरुद्ध ‘मेगा अभियान’, सरकारी सेवा डिजिटल माध्यमबाट प्रदान गर्ने व्यवस्था, १९९० यता आर्जित सम्पत्तिको छानबिन गर्न उच्चस्तरीय आयोग गठन, सार्वजनिक शिक्षामा सुधार, गुणस्तरीय स्वास्थ्य सेवा, एकीकृत सामाजिक सुरक्षा र भरपर्दो ऊर्जा सञ्जाल निर्माणलाई प्राथमिकता दिएको छ ।
नेमकिपाले भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने, ठूला भ्रष्टाचारमा संलग्नलाई कडा सजाय दिने कानुनी व्यवस्था ल्याउने प्रस्ताव गरेको छ ।
विदेशी सन्तानलाई वंशजका आधारमा नागरिकता दिने कानुनी व्यवस्था खारेज गर्ने, दुर्गम क्षेत्रमा रोपवे, केबुलकार, सुरुङ र रेलमार्ग निर्माण गर्ने प्रतिबद्धता पार्टीले जनाएको छ ।
यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीले पूर्ण समावेशिता, सामाजिक न्याय, समानता, सहभागी शासन, आर्थिक तथा सांस्कृतिक अधिकार, सुशासन र पारदर्शितामा जोड दिएको छ ।परम्परागत दलहरूले वर्तमान चुनौती समाधान गर्न नसकेको दाबी गर्दै स्पष्ट दृष्टिकोण, वैचारिक स्पष्टता र युवामुखी नेतृत्वमार्फत देशलाई समृद्धितर्फ लैजाने प्रतिबद्धता पार्टीले व्यक्त गरेको छ ।
उज्यालो नेपाल पार्टीले ‘विकास दशक’ घोषणा गरी तीव्र आर्थिक विकास गर्ने योजना अघि सारेका छन् । सन् २०३० सम्म वार्षिक ९ प्रतिशत आर्थिक वृद्धि हासिल गर्दै करिब ७ अर्ब अमेरिकी डलर राजस्व संकलन गर्ने र २०३५ सम्म १० प्रतिशत वार्षिक वृद्धि दर कायम गरी ११ अर्ब डलर राजस्व तथा प्रतिव्यक्ति आय करिब ४,००० डलर पु¥याउने लक्ष्य राखिएको छ, जसले नेपाललाई मध्यम आयस्तरको देश बनाउने दाबी गरिएको छ ।
यसरी, निर्वाचन नजिकिँदै जाँदा दलहरूले आफ्ना नीति, कार्यक्रम र प्रतिबद्धता सार्वजनिक गर्दै मतदातालाई आकर्षित गर्ने प्रयास तीव्र पारेका छन् ।




प्रतिक्रिया