सरकारलाई रास्वपा सांसदकै चेतावनी : मधेशमा आगो निभेको हो, दाउरा निभ्या छैन

सरकारलाई रास्वपा सांसदकै चेतावनी : मधेशमा आगो निभेको हो, दाउरा निभ्या छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले मधेश प्रदेशमा हालै लागेको आगो निभेको तर दाउरा ननिभेको भन्दै सरकारलाई चेतावनी दिएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘मधेशमा भर्खरै आगो बल्यो । हामीले जसोतसो निभाउन सक्यौं । तर म सरकारलाई यहीँ सम्मानित सदनबाट सन्देश दिन चाहन्छु – आगो निभेको हो, दाउरा निभ्या छैन ।’

उनले भारतबाट मधेशमा २५ रुपैयाँको चिप्स ल्याउँदा खोसिने तर एयरपोर्टबाट त्योभन्दा महंगो सामान पनि ल्याउन दिएकोप्रति आपत्ति जनाए । ‘त्यहाँ २५ रुपैयाँको चिप्स खोसिन्छ । तर सन्तुलन छैन भन्ने कुरा हेर्नुस् न एयरपोर्टमा त ब्लु लेबल र ल्यापटप ल्याउन दिनुभएको छ । अनि मधेशको बोर्डरमा २५ रुपैयाँको चिप्स किन खोसिँदैछ ? बोर्डरबाट आउने गरिबलाई एउटा व्यवहार र एयरपोर्टबाट आउने धनीलाई अर्को व्यवहार किन गरिन्छ ? हामीमा किन असन्तुलन छ ? व्यवहार किन सन्तुलित छैन ?’

उनले सरकारको योजना सही भए पनि सञ्चालनको ढंग नपुगेको कुरा स्वीकार्नुपर्ने बताए । उनले भने, ‘अहिलेको कुरामा इन्टिग्रिटीको प्रश्न छैन । इन्टिग्रिटीमा कुनै पनि शंका छैन । इन्टेन्सनमा पनि कुनै प्रश्न छैन । तर कता कता ढंग नपुगेको हो कि भन्ने लाग्छ र त्यो स्वीकार्नुपर्छ ।’

उनले नयाँ सरकार बनेपछि निजी क्षेत्र त्रसित रहेको बताए । उनले भने, ‘क्षेत्र निजी क्षेत्र त्रसित छ । प्रहरी देखेपछि म सुरक्षित छु भन्ने सोच्नुपर्ने नागरिकहरू प्रहरी देखेर तर्सिन्छन् । कुन बेला धरपकड गर्ला, कुन बेला मेरो घरमा छापा मार्ला भनेर । निजी क्षेत्रलाई आत्मविश्वास दिनुस् । भएको पैसा खर्च गर्न दिनुस् । बैंकमा भएको पैसा लगानी गर्न दिनुस्, यो वातावरण दिनुस् यो आवश्यक छ । अर्थ मन्त्रालयबाट केही प्रयासहरू भइराखेको छ । तर त्यो प्रयास पेपरमा मात्र छ, व्यवहारमा देखिएको छैन ।’