निर्वाचित मनिष झाको नयाँ शैली : पराजितसँग भेट्ने र परामर्श लिने

निर्वाचित मनिष झाको नयाँ शैली : पराजितसँग भेट्ने र परामर्श लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – प्रतिनिधि सभा सदस्यको निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा २ दिन अघि मात्र भारी मतका साथ निर्वाचित भएका रास्वपाका उम्मेदवार मनिष झाले सोही क्षेत्रमा पराजित भएका एमालेका उम्मेदवार जुली महतोसँग भेटघाट गरेका छन् ।

आईतबार दिउँसो झाले जुली महतो जनकपुरधामस्थित निजी निवासमा पुगेर भेट गरेका हुन् ।

झाले धनुषाको समग्र विकासका लागि अभिभावकको रूपमा रही सरसल्लाह दिन महतोसँग आग्रह गरेका छन् ।

धनुषा र धनुषावासीलाई आफूभन्दा बढी जुलीले चिनेको भन्दै झाले धनुषामा गर्नुपर्ने कामहरूका बारेमा जुलीसँग छोटो छलफल गरेका छन् ।

सो क्रममा पराजित उम्मेदवार एवं नेकपा एमालेकी नेत्री महतोले झालाई बधाई तथा शुभकामना दिएकी थिइन् । उनले धनुषामा गर्नुपर्ने कार्यहरूको बारेमा झालाई जानकारी गराएकी थिइन् ।

उनले श्रीराम जानकी बहुउद्देश्य रंगशालाको कार्य, स्वास्थ्य, शिक्षा र विशेषगरी बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखानालाई सुचारु गर्नका लागि पहल गर्न झालाई अवगत गराएकी थिइन् ।

एमालेको सरकार भएको समयमा उनले अधिकांश कार्ययोजनाहरू अगाडि बढाइसकेको र थोरै कामहरू गर्न मात्र बाँकी रहेकाले ती कार्यहरूलाई अगाडि बढाउन झालाई महतोले सल्लाह दिएकी थिइन् ।

नवनिर्वाचित झाले यसअघि नेपाली कांग्रेसबाट पराजित भएका धनुषाका बिमलेन्द्र निधिलाई भेटेका थिए । झाले यस क्षेत्रका सम्पूर्ण अग्रजहरूसँग भेटेर सरसल्लाह लिने कार्यक्रम रहेको बताए ।