म्यान्मारबाट आएका २५ जनालाई होम क्वारेन्टाइनमा पठाइयो


काठमाडौं – म्यान्मारबाट उद्धार गरेर ल्याइएका २६ मध्ये २५ नेपालीलाई सरकारले आजै होम क्वारेन्टाइनमा पठाएको छ ।

बिहान ११ः०० बजे काठमाडौँ आइपुगेका उनीहरुलाई आवश्यक स्वास्थ्य जाँचसहित प्रक्रिया पूरा गरेर काठमाडौँको वसुन्धरास्थित यती पार्टी प्यालेसको होल्डिङ सेन्टरमा राखिएको थियो ।

म्यान्माबाटै पिसिआर नेगेटिभ भएर आएकाले आवश्यक अभिलेख राखेर आजै होम क्वारेन्टाइनमा पठाइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

मकवानपुरका एक जना होल्डिङ सेन्टरमा रहेकाले पछि पठाइने जनाइएको छ । आज म्यान्माबाट आउनेमा वाग्मती प्रदेशका १७ जना, गण्डकीका चार, प्रदेश नं १ का चार र प्रदेश नं ५ का एक जना छन् ।

सेन्टरको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ। उनीहरुलाई आज म्यान्मा सेनाको एयरफोर्सको फोकर–६० को फ्लाइट नम्बर एमएएच–००३ बाट २६ नेपालीलाई ल्याइएको थियो। उक्त विमानबाट दुई नेपालीसहित ४३ जना म्यान्मा गएका छन् ।

आज अपराह्न सरकारले संयुक्त अरब इमिरेट्स् (युएई) बाट पनि १६८ जनालाई उद्धार गरी स्वदेश फर्काएको छ । विदेशबाट आएर सम्बन्धित जिल्लाको क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा नजाँदासम्म उनीहरुलाई बस्न उपत्यकाका तीन जिल्लाका झण्डै तीन हजार क्षमताका सात होल्डिङ सेन्टर बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement