काठमाण्डु – नेपालमा पदयात्रा तथा पर्वतारोहणका लागि आएका विदेशी पर्यटकलाई लक्षित गरी उद्धार तथा उपचारको आवरणमा गैरकानूनी गतिविधि भइरहेको तथ्य खुलेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख मनोज कुमार केसीले उक्त गतिविधि आर्थिक हिनामिनासँग सम्बन्धित रहेको आशंका गर्दै सघन अनुसन्धान गरिएको जानकारी दिए ।
आईतबार आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख केसीले करीब साढे २ महिनादेखि ‘फेक रेस्क्यु’ सम्बन्धी छुट्टै युनिट तथा कार्यदल गठन गरी अनुसन्धान अघि बढाइएको बताए ।
अनुसन्धानका क्रममा नेपाल राष्ट्र बैंकबाट प्राप्त १ हजारभन्दा बढी कारोबारको विवरण अध्ययन गरिएको उनले बताए । केसीका अनुसार प्रारम्भिक चरणमा ‘माउन्टेन रेस्क्यु सर्भिस’का १ हजार २४८ वटा कारोबारमध्ये १७१ वटा शंकास्पद देखिएका छन् ।
‘नेपाल चाटर्ड सर्भिस’का ४७१ कारोबारमध्ये ७५ वटा शंकास्पद रहेको पाइएको छ । अनुसन्धानका क्रममा करीब ३ करोड रुपैयाँ बराबरको शंकास्पद ट्रान्जेक्सन देखिएको सीआईबीले जनाएको छ ।
उनले भने, ‘साढे २ महिनाभित्रमा हामीले फेक रिर्सच सम्बन्धी एउटा छुट्टै युनिट कार्यदल बनाएर कार्य गर्यौं । हजारभन्दा बढी राष्ट्र बैंकबाट प्राप्त रमकहरूको अनुसन्धान गर्यौं । डाटाहरू हेर्दा पहिलो चरणमा माउन्टेन रेस्क्यु सर्भिस भन्नेले १२४८ वटा मध्ये १७१ वटा शंकास्पद देखियो । नेपाल चाटर्स सर्भिसले ४७१ मा ७५ जना शंकास्पद छ । लगभग ३ करोड चाहिँ शंकास्पद ट्रान्जेक्सन देखिएको अवस्था छ । धेरै समय र धेरै अनुसन्धान गर्यौं । हामीसँग प्रमाण भएको कुरा कानूनी दायरामा ल्याउनुपर्छ भनेर लागेका छौं । नक्कली उद्धार अहिले पनि भइरहेको छ । पहिला मात्रै होइन ।’
उनले नक्कली उद्धारको गतिविधि विगतमा मात्र नभई हाल पनि भइरहेको दाबी गर्दै यसप्रकारका गैरकानूनी कार्य नियन्त्रणका लागि अनुसन्धानलाई निरन्तरता दिइने बताए । सीआईबीले २ हजारभन्दा बढी रेस्क्युको अनुसन्धान गरेको जनाएको छ ।




प्रतिक्रिया