मनोज गजुरेलको ‘त्यो कमेडी’… जसले राष्ट्रपतिदेखि सबैलाई रूवाए


काठमाण्डु – हिन्दू महिलाको महान पर्व हरितालिका तीजको छेकोमा सिस्नुपानी नेपालले आइँतबार प्रज्ञा प्रतिष्ठानमा ‘छोरी’ नामक कार्यक्रम आयोजना गर्यो ।

उक्त कार्यक्रममा शक्तिशाली कमेडियन मनोज गजुरेलले विधुवा आमाको चरित्रमा बजोड प्रस्तुती पस्किएका थिए । उनी आफु पनि विधुवा बुढीआमाकै पहिरनमा प्रस्तुत भएका थिए ।

उनले पस्किएको प्रस्तुतिले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि हलमा उपस्थित महिला, पुरुषलाई समेत भावुक बनायो । उनको यो स्ट्यान्ड अप प्रस्तुतिमा विधुवा आमाको सन्तानप्रतिको स्नेह, मर्म र सपना चित्रण गरिएको थियो ।

राष्ट्रपति भण्डारीदेखि राजनीति, समाज, उद्यम क्षेत्रका महिलाले चाख मानेर उनको प्रस्तुति सुने । त्यसक्रममा सबैका आँखा रसाएका थिए ।

आमाको चरित्रमा गजुरेलले भने, ‘जब उहाँ जानुभयो, अनि मात्र थाहा पाएँ, श्रीमान् र श्रीमतीको माया र सम्बन्ध कति गहिरो हुँदो रहेछ भनेर । सासू ससुराका लागि एउटा छोरो मर्‍यो, दिदीबहिनीका लागि एउटा माइती मर्‍यो ।

छोराछोरीका लागि एउटा बाउ मर्‍यो । तर मेरा लागि संसार मर्‍यो । साहस मर्‍यो, सारा मर्‍यो, सर्वस्व मर्‍यो । आफ्नो सर्वस्व सकिंदा पनि आफू जिउँदै रहनसक्नु सानो चमत्कार होइन नानी ! ’

श्रीमान वितेपछि एक्लोपन र असुरक्षाले तर्सारहन्थ्यो । एक मनले भन्थ्ष्यो यस्तो जिन्दगी बाँचेर के काम ? मर्दिन्छु बरु जस्तो लाग्थ्यो । अर्को मनले सम्झाउथ्यो–ती सातवटा लालाबालाको के अवस्था हुन्छ ? फेरि अर्को मनले भन्थ्यो– बाँच्न त कुकुरका छाउरा पनि बाँचेकै हुन्छ, मान्छेका छाउरा त जसरी पनि बाँचिहाल्छन् नी ! तर फेरी अर्को मनले सम्झाउथ्यो नानी जन्म दिनु र आमा हुनु यी दुईटा फरक कुरा हुन् । म जन्मदाता मात्र थिइनँ म आमा पनि थिएँ, त्यसैले चाहेर पनि मर्न सकिन नानी ।

प्रतिक्रिया दिनुहोस
Advertisement