काठमाण्डु- गृहमन्त्री रमेश लेखकले भुटानी शरणार्थीको फाइल अघि बढाउने प्रहरी अधिकारीको सरुवा गरेका छन् । अपराध महाशाखाको प्रमुख हुंदा नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खांडसहित उच्च अधिकारीहरु पक्राउ गर्ने डीआईजी मनोज केसीको दुई महिना नपुग्दै सरुवा भएको हो ।
उनि नेपाल प्रहरीको विशेष ब्युरोका प्रमुख थिए । सरकार परिवर्तन भएसंगै केसीको सरुवा भएको हो । केसीले नै भुटानी प्रकरणमा जोडिएका अभियुक्त बेचन झालाई भारतबाट पक्राउ गरेर ल्याएका थिए । जसलाई कतिपयले सत्ता समिकरणसंग समेत जोडेर हेरेका थिए ।
भुटानीमा ठुलो रकम लेनदेनको प्रमाण भेटिएपछि प्रहरी झाको खोजीमा थियो । उनको नेपाली कांग्रेसका नेताहरुसंग सम्बन्ध भएकै कारण महत्वपूर्ण सुचना निस्कने भन्दै उनलाई पक्राउ गर्न तत्कालिन गृहमन्त्री रवि लामिछानेले समेत सक्रियता देखाएका थिए । सरकार परिवर्तन हुनुभन्दा केही दिनअघि मात्र झालाई भारतिय प्रहरीसंगको सहकार्यमा विशेष ब्युरोले पक्राउ गरेर नेपाल ल्याएको थियो । त्यसमा केसीको महत्वपूर्ण भुमिका थियो ।
भावी प्रहरी महानिरीक्षकका दावेदार रहेका केसीलाई भुटानी प्रकरण र वेचनलाई पक्राउ गरेको प्रतिसोधमा दुई महिना नपुग्दै ब्युरोबाट हटाएर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको हो । उनको ठाउंमा डिआईजी राजन अधिकारीलाई विशेष ब्युरोमा ल्याइएको छ । कांग्रेस नेतृत्वले सीआईबी प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई समेत सरुवा गर्न जोडवल गरिरहेको छ ।
उनको सरुवाका लागि गृहमन्त्रीले क्याविनेटमा प्रस्ताव लगेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्रस्ताव रोकेको स्रोतले बतायो । तर, उनको सरुवाको लागि कांग्रेस नेताहरुले अहिले दबाव दिइरहेका छन् ।




प्रतिक्रिया