धार्मिक क्षेत्रको भ्रमणमा व्यस्त भारतीय सेनाध्यक्ष


काठमाण्डु – तीन दिने नेपाल भ्रमणमा आएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेले वसन्तपुर र पशुपतिनाथको दर्शन गरेका छन् ।

बुधबार अपराह्न काठमाण्डु अवतरण गरेका नरवाणेले हनुमान ढोका दरबार क्षेत्रको अवलोकन गरेका छन् । सोहीक्रममा उनले हनुमान ढोकामा रहेको जीवित देवी कुमारीको दर्शन गरेका छन् ।

नरवाणेले कुमारी दर्शन गर्न पाउँदा खुसी व्यक्त गरेका थिए । उनले हुमान ढोकाका विषयमा चासो व्यक्त गरेका थिए ।

त्यसपछि उनी पशुपति मन्दीरको दर्शन गर्न पुगेका थिए । श्रीमतीसहित आएका नरवाणेले पशुपति क्षेत्रको अवलोकन गरेका थिए । उनी सोल्टी होटलमा बसेका छन् ।

बिहीबार उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गर्नेछन् । त्यसलगतै सैनिक मुख्यालय जङ्गी अड्डामा उनले सैनिक गारत निरीक्षण गर्ने कार्यक्रम छ ।

सोही दिन प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थलसेनाध्यक्ष जनरल नरावणेसँग औपचारिक भेटवार्ता गर्नेछन् । सेनाका पिएसओज र रथीवृन्दसँग भेटघाट र छलफलको कार्यक्रम तय भएको छ । सोही अवसरमा दुई देशबीचको सुरक्षा सहयोगसँग सम्बन्धित तेह्रौं दुई बैठकको सहमतिअनुरुप एम्बुलेन्सलगायत स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम छ ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नेछिन् । नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशको सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएको छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरावणेले १८औँ सेनापति हुन् ।

भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी प्राप्त गर्ने वर्तमान प्रधानसेनापति थापा १४ औं सेनापति हुन् ।

सोही अवसरमा राष्ट्रपतिसँग उनको भेटवार्ता हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । सोही दिन भारतीय सेनाध्यक्षको सम्मानमा जङ्गी अड्डामा रात्री भोज आयोजना हुनेछ । भ्रमणको तेस्रो दिन उनी शिवपुरीस्थित आर्मी कमाण्ड एन्ड स्टाफ कलेजमा आयोजना हुने शिक्षार्थीसँगको अन्तरक्रियामा सहभागी हुनेछन् ।

रक्षामन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थलसेनाध्यक्ष नरावणेले सोही दिन औपचारिक भेटवार्ता गर्नेछन् । नेपालको तीन दिवसीय भ्रमण पूरा गरी जनरल नरवणेको नेतृत्वमा रहेको चार सदस्यीय भारतीय सेनाको टोली शुक्रबार स्वदेश फर्कनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement