काठमाण्डु – यसवर्ष मनसुन भित्रिएपछि भएका विपद्जन्य घटनामा परी ४७ जनाले ज्यान गुमाएका छन् ।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मनसुन भित्रिएपछि पहिरोमा परी २४, पाढीमा परी ४ र चट्याङमा परी १९ जनाको ज्यान गएको जानकारी दिए ।
अर्यालले मनसुनजन्य विपद्मा परेर ४६ घर पूर्ण क्षति र ३६ घर आंशिक क्षति भएको जानकारी दिए । हालसम्मका मनसुनजन्य विपद्का विवरण प्रस्तुत गर्दै उनले पहिरोबाट २४ जनाको मृत्यु भएको, १९ जना घाइते भएका तथा बाढीबाट चारजनाको मृत्यु भएको, एकजना बेपत्ता भएका र दुईजना घाइते भएका जानकारी दिए । भारी वर्षाका कारण चार जना घाइते भएका छन् ।
चट्याङका ९३ वटा घटनामा परी १९ को मृत्यु भएको तथा ३५ घाइते भएका छन् । हालसम्म चट्याङबाट ३२ जिल्ला प्रभावित भएका उनले जानकारी दिए । सबै विपद्का घटनाबाट एक सय ७१ चौपायाका मरेका छन् ।
विपद् व्यवस्थापनका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ तयार गरी कार्यान्वयनमा ल्याइएको मन्त्री अर्यालले जानकारी दिए । उनले मनसुनजन्य विपदबाट हुनसक्ने जोखिमको आकलन गरी जोखिमयुक्त क्षेत्रको संरक्षण हुनेगरी विभिन्न क्षेत्रमा निकायगत जिम्मेवारी तोकिएको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा पूर्वतयारी गरिएको जानकारी दिँदै उनले सरोकारवाला निकायसँगको सहकार्य र समन्वयमा तयार गरिएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाअनुसार ‘कमाण्ड पोष्ट’ खडा गरी विपदबाट धनजन जोगाउने कार्य भइरहेका बताए ।
जिल्ला विपद् व्यवस्थापन कोषबाट मृतकका परिवारलाई पाँच लाख, प्रदेश सरकारबाट प्राप्त तीन लाख, चामल, दाल, तेल, चिनी, साबुनलगायत दैनिक उपभोग्य वस्तु उपलब्ध गराइएको छ । साथै मृतकका परिवारलाई तत्काल १५ हजार, त्रिपाल, कम्बल र भाँडाकुँडा उपलब्ध गराइएको थियो ।




प्रतिक्रिया