आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग छ : मन्त्री बडू


काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार सजग रहेको बताएका छन् ।

उद्योग वाणिज्य सङ्घ सिन्धुलीले सिन्धुलीमाढीमा आयोजना गरेको छैटाैँ सिन्धुली महोत्सवको आज उद्घाटन गर्दै उनले मुलुकको अस्वस्थ अर्थतन्त्र सुधारका लागि सरकारले विशेष योजना अघि सारेको बताए।

उनले उद्योगहरुको उत्पादन बढाउनका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए । आर्थिक नीति र मौद्रिक नीतिमा सुधारका लागि क्षमता अनुसार काम गर्ने उनको भनाइ छ ।

चालु आवको बजेटमार्फत् राष्ट्रिय उत्पादन र उपभोग बढाउने नीति लिइएको र सोही अन्तर्गत नेपाली उत्पादन र उपभोग कार्यक्रम १० वर्षे अभियान सुरु भएको उनले जानकारी दिए। उनले यस वर्ष ३० वटा औद्योगिक ग्राम स्थापना हुने बताए। ग्रामीण तहदेखि नै उद्योग स्थापना, रोजगारी सिर्जना गरी युवालाई उद्यमशीलतामा नजोड्ने हो भने अर्थतन्त्रमा सुधार आउन नसक्ने उनको भनाइ छ ।

“हातमा सीप हुनेहरुलाई उद्यमशिलताका रु पाँच लाखदेखि २५ लाखसम्म विउ पुँजी दिइनेछ”, उनले भने, “युवा र महिलालाई उद्यम सुरु गर्नका लागि सरकारले बिउ पँुजी दिने गरी विषेश कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ”, उनले भने।

उद्यमशिलता र उद्योगको स्थापना सरकारको मुख्य लक्ष्य रहेको उनको भनाइ छ । उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको भन्दै यसका लागि सरकारले आवश्यक पहल गर्ने बताए। जिल्लामा आयोजना हुने महोत्सवले यहाँको उत्पादनको प्रचार र बजारीकरणका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे। महोत्सवबाट हुने आम्दानीले दमकल खरिद गर्ने योजनाको स्वागत गर्दै सङ्घीय सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

‘कृषि उद्योग, पर्यटन र व्यवसायमा लगानी अभिवृद्धि गरौँ, समृृद्धि र सम्मुनत सिन्धुली निर्माणका लागि अघि बढौँ’ नाराका साथ सुरु भएको महोत्सव पुस १८ सम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement