ढुक्क हुनुहोस् ! अब मेलम्चीको पानी उपत्यका आउँछ : मन्त्री बिना मगर


काठमाडौं – खानेपानीमन्त्री बीना मगरले तराई–मधेशका जिल्लाका खानेपानीलाई आसेर्निक मुक्त बनाउने मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताएकी छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत खानेपानी मन्त्रालयको विभिन्न शीर्षकमा सांसदले उठाएका प्रश्नको जवाफमा मन्त्री मगरले यसका कार्यका लागि २१ तराईका जिल्लामा कार्यक्रम जारी रहेको जानकारी दिइन् ।

उनले पहिलो चरणको मेलम्ची खानेपानी आयोजनाको बाँकी रहेको काम सम्पन्न गर्न ठेक्का भई काम द्रुत रुपमा अगाडि बढेको बताउँदै दोस्रो चरणको मेलम्ची खानेपानी आयोजनाको काम पनि जारी नै रहेको छ, उनले भनिन्, ‘ढुक्क हुनुहोस् अब मेलम्चीको पानी उपत्यका आउँछ ।’

पहिलो चरणको मेलम्ची खानेपानी आयोजनाका बाँकी काम निर्धारित समयमै सम्पन्न हुनेमा मन्त्रालय आशावादी रहेको उनले जानकारी दिइन् ।

मन्त्री मगरले संविधान प्रदत्त मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेकाले यसै अनुरुप सबै जनतालाई खानेपानी र सरसफाइको पहुँच पु¥याउन आफ्ना नीति र कार्यक्रम केन्द्रित गरेको उल्लेख गरिन् ।

सन् २०३० सम्म खानेपानी र सरसफाइसम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताइन् ।

उनले भनिन, ‘आधारभूत खानेपानीको पहुँच ८८ प्रतिशत र सरसफाइको पहुँच ९९ जनसङ्ख्यामा पुगेको छ । अबको कार्य पुगेको सेवालाई गुणस्तरीय र भरपर्दो बनाउनु हो ।’

उनले भूकम्पले क्षति पु¥याएका खानेपानी र सरसफाइ योजना अगामी वर्ष्भित्र सम्पन्न हुने, विश्व बैंकको आर्थिक एवम् प्राविधिक सहयोगमा ग्रामीण खानेपानी र सरसफाइ योजना लागू हुने, पोखरा, भरतपुर जस्ता ठूला शहरमा ठूला शहरी खानेपानी आयोजना कार्यान्वयनमा आएको बताइन् ।

उनले भनिन्, ‘गोरखा, पाल्पा र रामेछापका सुख्खा ग्रामीण क्षेत्रमा लिफ्ट प्रविधिबाट खानेपानी पु¥याइएको छ । खानेपानी र सरसफाइका संरचनालाई कम विपद् जोखिम बनाइँदैछ ।’

मन्त्री मगरले एक घर एक धारा र शौचालय बनाउने कार्यक्रम सरकारको रहेको जानकारी दिँदै आगामी वर्ष सबै जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा हुने जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement