ढुक्क हुनुस् ! मेलम्चीको पानी मेरै पालामा काठमाडौं आउँछ : मन्त्री मगर


काठमाडौं – खानेपानीमन्त्री बिना मगरले मेलम्चीको पानी काठमाडौंवासीले आफ्नै कार्यकालमा पिउन पाउने बताएकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री मगरले खानेपानी आयोजना आफ्नै कार्यकालमा पूरा हुने बताइन् ।

उनले भनिन्, ‘यहाँ बोल्ने माननीयज्यूहरुले २४ वटा मन्त्री फेरिए तर मेलम्ची आएन भन्नुभो । यो सरकार अघिल्ला सरकारजस्तो होइन । तपाईंहरु सबै ढुक्क हुनुस्, अब २४ औं मन्त्रीकै पालामा मेलम्ची खानेपानी आयोजना बन्छ र मेलम्चीको खानेपानी चाँडै नै काठमाडौंवासीले खान पाउँछन् ।’

मेलम्चीका विषयमा आफूले सांसदहरुबाट धेरै आलोचना खेप्नु परेको बताउँदै उनले आफ्नै कार्यकालमा मेलम्चीको खानेपानी काठमाडौं ल्याउने प्रतिवद्धता व्यक्त गरिन् । मन्त्री मगरले नेपालको खानेपानी क्षेत्रमा धेरै चुनौती रहेकाले यसलाई नजरअन्दाज गर्न नसकिने समेत बताइन् ।

चिनियाँ कम्पनी सीएमसी आर्थिक रुपमा टाट पल्टिनुमा सरकारको र मन्त्रीको कुनै पनि भूमिका नरहेको बताउँदै उनले सिएमसी नेपालमा मात्रै नभएर अरु देशमा पनि असफल देखिएको कुरालाई माननीयज्यूहरुले आत्मसात् गर्नुपर्ने बताइन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुकेका पानीका मुहान संरक्षण र खानेपानीको सम्भावित स्रोत पहिचानमा मन्त्रालयले अध्ययन गरिरहेको पनि मन्त्री मगरले बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement