मन्त्री पण्डित र लोकसेवा आयोगलाई कारबाही गर्न राजपाको माग

मन्त्री पण्डित र लोकसेवा आयोगलाई कारबाही गर्न राजपाको माग


काठमाडौं – संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संसदीय मर्यादालाई नटेरेको भन्दै उनलाई कारवाही गर्न राष्ट्रिय जनता पार्टी नेपालले माग गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै राजपा सह–अध्यक्ष तथा सांसद लक्षमणलाल कर्णले मन्त्री पण्डित आकाशबाट नआएको र हामीलाई उनले समावेशिता सिकाउनु नपर्ने भन्दै हाम्रै समावेशी आन्दोलनको नाममा मन्त्री स्वयंले सरकारमा स्थान पाएको बताए ।

समिति र संसदको अवहेलना र उपहास नहोस् भन्ने तर्फ सचेत हुनुपर्नेमा उनले जोड दिए । राज्यव्यवस्था समितिले गरेको निर्देशन लोकसेवा आयोगले कार्यन्वयन नगरेको भन्दै कर्णले संविधानको कार्यान्वयन र संसदको मर्यादा कायम राख्ने तर्फ गम्भीर भूमिका निर्वाह नगरि अटेर गरे कारवाही गर्नु पर्ने ससंदमा माग गरे ।

‘समितिको निर्देशन मान्दिन भनेर मन्त्रीले भन्ने ? मन्त्रीको जन्म यही संसदबाट भएको हो । मन्त्री आकाशबाट आएको होइन । मन्त्रीले बुझ्नुपर्छ । यो संसदले जन्माएको हो मन्त्री’ सांसद कर्णले  भने, ‘लोकसेवा आयोगको अध्यक्षले भन्छ म मान्दिनँ । प्रवक्ताले भन्छ म मान्दिनँ । अब कसको कुरा मान्ने त ? संविधान पनि नमान्ने, कानुन पनि नमान्ने र संसदलाई पनि नमान्ने हो भने यो देश कसले चलाइरहेको छ ? एकजना मन्त्री र एकजना लोकसेवा आयोगले चलाउन सक्छ यो देश ? विज्ञापनको विरोधमा आन्दोलन भइरहँदा कसैलाई चिन्ता नभएपनि हामीलाई चिन्ता छ । यहीँ समानुपातिक समावेशीका लागि हामीले लडाई र्गया हो, आन्दोलन र्गया हो ।’

संसदीय समितिले लोकसेवा आयोगलाई विज्ञापन रोक्न निर्देशन गरेको र अत्यन्तै आवश्यक भए करारमा राख भनेको स्मरण गराउदै उनले संसदको निर्देशन पालना नगरेर मन्त्री र लोकसेवा आयोगले संविधानको उलंघन गरेको तर्क गरे ।

संसदीय सुनवाई समितिका सभापति समेत रहेका कर्णले सोमवार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगको निकै कडा आलोचना गरेका थिए । राज्यव्यवस्था तथा सुशासन समितिले सरकारलाई दिएको निर्देशन संवैधानिक निकायका प्रमुख र सरकारका मन्त्रीले मान्दिन भनेर संसदीय गरिमामाथि नै चुनौति दिने काम गरेको भन्दै कर्णले संसदको गरिमा, मर्यादा बचाउन अभिभावकको भूमिका निर्वाह गर्न सभामुखलाई आग्रह गरे ।