काठमाण्डु – नवनियुक्त शहरी विकासमन्त्री प्रभु साहले तोकिएकै समयमा निर्वाचन हुने बताएका छन् ।
आइतबार शहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधिसभाको निर्वाचन गर्नु रहेको भन्दै तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचन हुने बताए ।
‘यो सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन गर्नु हो, मन्त्रालयको काम पनि निर्वाचन केन्द्रीत गरेर गर्छौ । राष्ट्रको अगाडी मुख्य कार्यभार भनेको निर्वाचन प्रभावकारी गर्ने र तोकेकै समयमा निष्पक्ष ढंगले निर्वाचनमा केन्द्रीत हुन्छौं,’ उनले भने ।
मन्त्री साहले यस आर्थिक वर्षको बजेट आइसकेको र मन्त्रालयले पनि कार्यक्रम निर्धारण गरिसकेको अवस्थामा मन्त्रालयले त्यसैलाई प्रभावकारी रुपमा अगाडी बढाउने बताए ।
‘यो वर्षको बजेट आइसकेको छ । निर्धारित कार्यक्रम पनि बनिसकेको छ । त्यसैलाई प्रभावकारी ढंगले अगाडी बढाउने । भइरहेको कामलाई प्रभावकारी रुपमा अगाडी बढाउछौं,’ उनले भने ।
मन्त्री साहले मन्त्रालयले विकासको कामलाई प्रभावकारी बनाउने बताउँदै कोरोना महामारी फैलिइरहेको अवस्थामा महामारीबाट नेपाललाई अझै सुरक्षित गर्न थप सजगता अपनाउने बताए ।




प्रतिक्रिया