मन्त्री छान्न तातिए गठबन्धन, के गर्ला जसपा ?

मन्त्री छान्न तातिए गठबन्धन, के गर्ला जसपा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन सत्ता गठबन्धनका दल तातिएका छन् । सरकार गठन भएको ७० दिन वितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैनन् । जसका कारण शेबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार आलोचित बन्दै आएको छ ।

हिजो मंगलबार साँझ बसेको गठबन्धनको बैठकमा आ–आफ्ना पार्टीमा छलफल गरेर मन्त्रीको नाम पठाउने सहमति भएको थियो ।सोहीअनुसार काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीले पार्टीको बैठक बोलाएका छन् । तर जसपा भने मौन छ ।

आज दिउँसो ३ बजे नेकपा माओवादी केन्द्रले पार्टी कार्यालयमा स्थायी कमिटी बैठक बोलाएको छ । स्थायी कमिटी सदस्य गणेश साहका अनुसार मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेकाले मन्त्रीको नाम छनोट गर्न बैठक बोलाइएको हो ।

त्यस्तै काँग्रेसले दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाएको छ भने एकीकृत समाजवादीको पनि बैठक काठमाण्डुमा जारी छ । मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय कमिटीको पूर्णता, जिल्ला इञ्चार्ज तोक्ने, प्रदेश कमिटी अध्यक्ष चयन र आगामी कार्ययोजना, सरकारमा सहभागीता लगायतका एजेण्डा बैठकमा राखिएका छन् ।

यता प्रधानमन्त्री देउवाले बुधबार परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरिसकेका छन् । मंगलबार बसेको गठबन्धनका शीर्ष नेताको बैठकले खड्कालाई परराष्ट्र मन्त्री नियुक्ति गर्ने सहमति निर्णय गरेको थियाे । मन्त्री नियुक्तिमा देउवाले एकलौटी निर्णय गरेको भन्दै यता रामचन्द्र पौडेल समूहले असन्तुष्टि व्यक्त गरेको छ । अहिलेसम्म कांग्रेसबाट मन्त्री बनेका सबैजना देउवानिकट मानिन्छन् ।

के गर्ला जसपा ?

यता जनता समाजवादी पार्टी (जसपा)ले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारमा नजाने अडान लिएको छ ।अध्यादेश खारेजपछि मात्र मन्त्रीको नाम पठाउने जसपाका अध्यक्ष उपेन्द्र यादवले बताए ।

उनले २० प्रतिशतमा दल विभाजन गर्ने अध्यादेश खारेज नगरे बहुदलीय व्यवस्था नै खारेज हुने उनको भनाइ छ । यादवले अध्यादेश खारेज गर्ने विषयमा प्रधानमन्त्रीसँग सहमति भइसकेकोे बताए ।

‘अध्यादेश खारेज गर्नुपर्छ भन्ने विषयमा सहमति भएको छ । आज या भोलिमा हुन्छ । प्रधानमन्त्रीले भन्नुहुन्छ, मैले भन्न सक्दिनँ,’ उनले भने ।

केन्द्रीय समिति र संसदीय दल मध्ये एकमा २० प्रतिशत भए दल फुटाउन पाउने प्रावधान कायमै राखेर सरकारमा जाँदा जसपा विभाजन हुने यादवलाई डर रहेकाे जसपाका एक नेताले बताए । राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीको पक्षमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि रहेको छ ।

सत्तारुढ गठवन्धनमा माधव नेपाल र उपेन्द्र यादवका परस्पर विरोधी अडानले गर्दा देउवा सरकारले पूर्णता नपाउंदै धरापमा पर्न सक्ने खतरा देखिएको छ ।