मन्त्री पण्डितकाे चेतावनी: खटाएको ठाउँमा नजाने कर्मचारीलाई सधैँका लागि बिदा दिइने


काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गरिने बताएका छन् ।

आज मन्त्रालयमा सञ्चारकर्मीसँगकाे भेटमा उनले प्रदेश र स्थानीय तहमा खटाएका कर्मचारी नगएर काममा प्रभावित भएको भन्दै खटाएको ठाउँमा नजाने कर्मचारीलाई सधैँका लागि बिदा दिइने बताएका हुन् ।

मन्त्रालयले प्रदेश सरकार सञ्चालनका लागि खटाएका २९३ कर्मचारी अझै पुगेका छैनन् । “राज्यको तलब खाएका कर्मचारी सरकारले खटाएको ठाउँमा जान जान्न भन्न पाउँदैन”, उनले भने, “कि कर्मचारीले घर रोज्नुप¥यो कि कार्यालय, जो जादैनन् भने त्यस्ता कर्मचारीले घर जान्छन् ।” सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको विवरण तयार भइरहेकोसमेत मन्त्री पण्डितले बताए ।

अघिल्लो सरकारले कर्मचारीका लागि ल्याएको स्वेच्छिक अवकाश वर्तमान सरकारले निरन्तरता दिइने छैन्, उनले भने “देशमा कर्मचारी अपुग भएका बेला स्वेच्छिक अवकाश हुँदैन ।”

मन्त्री पण्डितले “फाराम भरेका भरमा स्वेच्छिक अवकाश दिइन्न” भन्दै शारीरिकरुपमा अशक्त र मानसिकरुपमा रोगी भएका, जो काम गर्न सक्दैनन्, तिनीलाई मात्र स्वेच्छिक अवकाशको दिइने बताए ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि स्वेच्छिक अवकाश नदिने घोषणा गरिसकेका छन् ।

मन्त्री पण्डितले ऐन कानुन बनाएर मन्त्रालयका काम कारबाहीलाई चुस्तदुरुस्त बनाइने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement