एजेन्सी- म्यानमारका राष्ट्रपति यु विन मिन्ट, आङसाङ सुकीलगायतलाई पक्राउ गरेकोमा चौतर्फी विरोध भइरहेका बेला त्यसबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक बस्ने भएको छ ।म्यानमारमा सेनाले कू गरि सत्ता हत्याएपछि त्यसको चौतर्फी विरोध भइरहेकाे छ ।
म्यानमारको सेनाले सोमबार बिहानै सत्तारुढ नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीकी नेतृ आङ साङ सुकीसहित शीर्ष नेतालाई गिरफ्तार गरि सत्ता नियन्त्रणमा लिएको हो । सेनाले एक वर्षका लागि संकटकालको घोषणा समेत गरेको छ ।
गएको नोभेम्बर ८ मा भएको चुनावमा सूकीको पार्टी अत्याधिक बहुमत ल्याएर विजयी भएको थियो । तर सो चुनावमा धाँधली भएको आरोप लगाएको सेनाले निर्वाचित सांसदको पहिलो बैठक बोलाइएकै दिनको सबेरै सत्ता हत्याएको हो ।
यसैबिच अमेरिकी राष्ट्रपति जो बाइडेनले सैन्य कू म्यानमारको प्रजातान्त्रिक प्रक्रिया र कानूनी शासनमाथिको सीधा आक्रमण रहेको भन्दै बिराेध गरेका छन् ।म्यान्मारको सेनाले नेत्री आङ सान सुकीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै सेनाविरुद्ध कदम चालिने धम्की समेत दिएका छन्।
बाइडनले म्यान्मारको सेनालाई तत्काल सत्ता छोड्न भनेका छन् र त्यसो नभए अमेरिकाले “उचित कदम” चाल्ने बताएका छन्। अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेत्री सुकीको गिरफ्तारिलाई “भयभीत पार्ने” भनि व्याख्या गरेका छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले मङ्गलवार म्यानमारमा भएको कूबारे छलफल गर्न आपत्कालीन बैठक गर्ने योजना गरेको छ।
युरोपेली सङ्घ, जापान र भारतले म्यान्मारमा प्रजातन्त्र फिर्ता गर्ने ह्वाइट हाउसको मागमा समर्थन जनाएका छन्। सत्ता हातमा लिएका सेना प्रमुख मिन आङ हलाइङ्गले स्वतन्त्र चुनाव गरि विजयी हुने पार्टीलाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । तर त्यसको समय सीमा भने उनले खुलाएका छैनन् ।




प्रतिक्रिया