काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले हिंसा शब्द संसदीय नभएको निर्णय नगर्दासम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । संसदीय दलको शुक्रबार बसेको बैठकले ‘हिंसा’ शब्दलाई असंसदीय नभन्दासम्म संसद्को अवरोध कायम राख्ने निर्णय गरेको हो ।
दलको बैठकपछि प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘जनयुद्धलाइ अपमानित गरिएको छ, यसमा (संशोधन) नआउँदासम्म अवरोधलाई निरन्तरता दिने निर्णय गरेका छौं ।’
एमाले सचिव योगेश भट्टराईले संसद्मा धारणा राख्ने क्रममा माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेका थिए । उनको अभिव्यक्तिले माओवादी जनयुद्ध, शान्ति सम्झौता र संविधानलाई अपमान गरेको निष्कर्ष माओवादी संसदीय दलले निकालेको प्रमुख सचेतक पाण्डेले बताए ।
भट्टराईले बोलेकै दिन माओवादीले नियमापत्ति गरेको थियो । सभामुखले छानबिन गर्न निर्देशन दिएपछि माओवादीले विरोध रोकेको थियो । बुधबार सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नभएको निर्णय सुनाएपछि माओवादीले पुनः संसद् अवरुद्ध गरेको थियो । त्यसपछि सभामुख घिमिरेले आइतबार दिउँसो एक बजेसम्मका लागि संसद् बैठक स्थगित गरेका थिए ।
बैठकले उपपसभामुख इन्दिरा राना मगरले भिसा अन्तर्वार्ताका लागि पत्र लेख्नु कमजोरी भएको निष्कर्ष निकालेको छ । तर १८ महिनापछि संवैधानिक परिषद्लाई हेरेर उपसभामुखलाई हटाउन खोजेको माओवादी केन्द्रको निष्कर्ष छ ।




प्रतिक्रिया