माओवादीको नयाँ प्रयास, मन्त्रिपरिषदमा ५० प्रतिशत महिला

माओवादीको नयाँ प्रयास, मन्त्रिपरिषदमा ५० प्रतिशत महिला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको मन्त्रालयमा ५० प्रतिशत महिला पठाउने भएको छ । समावेसी र समान सहभागिताको निति अनुसार १ राज्यमन्त्री सहित ६ वटा मन्त्रालय पाएको माओवादीले ३ जना महिलालाई मन्त्री बनाउने भएको छ ।

हिजो बसेको स्थायी कमिटी बैठकले आफ्नो तर्फबाट सरकारमा सहभागि हुने मन्त्रीमध्ये ५० प्रतिशत महिलालाई जिम्मेवारी दिने निर्णय गरेको थियो । विशेष गरी महिलालाई अगाडि ल्याउन गरिएको उक्त  निर्णय गरिएकाे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताए ।

माओवादीबाट देवेन्द्र पौडेलको नेतृत्वमा महेश्वर गहतराज, शशी श्रेष्ठ मन्त्री र बोधमाया यादव राज्यमन्त्री बन्दैछन् । मन्त्री छनोटमा माओवादीले अपनाएको पहिलो मापदण्ड हो, पहिले मन्त्री बनेकालाई नदोहोर्याउने । यो मापदण्ड अनुसार नयाँ मन्त्रीहरु छानिएका छन् । यद्यपि अघिल्लो छनोटमा भने पम्फा भुसाल र जनार्दन शर्मा पुरानै दोहोरिएका हुन ।

मन्त्रीमा सिफारिस भएकी श्रेष्ठ नेपालको वामपन्थी आन्दोलनमा पुरानो इतिहास बोकेकी सांसद हुन् । काठमाण्डुकी समानुपातिक सांसद श्रेष्ठ यसअघि राज्यमन्त्रीसम्म बनेकी थिइन् ।

यता पहिलोपटक राज्यमन्त्रीमा सिफारिस भएकी यादव २०४४ सालमा अखिल क्रान्तिकारीको छैठौं जिल्ला समिति सदस्यबाट विद्यार्थी राजनीतिमा आवद्ध भएकी हुन् । उनी २०५८ सालमा तत्कालीन नेकपा माओवादी निकट अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य भएकी थिइन् ।

लामो समयसम्म मन्त्रिपरिषद विस्तार गर्न नसकेका प्रधानमन्त्री देउवाले आज मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेका छन् । तर सत्ता गठबन्धनका दलले मन्त्रीको नाम टुंगो लगाउन नसक्दा आज मन्त्रिपरिषद विस्तार हुने सम्भावना कम छ ।