शर्मालाई माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष बनाउन केन्द्रको दबाब, चार नेताले दाबी छोडेनन्

शर्मालाई माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष बनाउन केन्द्रको दबाब, चार नेताले दाबी छोडेनन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – नेकपा माओवादी केन्द्रको प्रथम कर्णाली प्रदेश सम्मेलनबाट नेतृत्व चयन गर्न सकेको छैन । शनिबारबाट सुरू भएको सम्मेलनबाट नेतृत्वका लागि आंकाक्षी धेरै भएका कारणले सर्वसम्मत नेतृत्व चयन हुन नसकेको हो ।

अध्यक्षका आंकाक्षी धेरै भएका कारणले नेतृत्व चयन गर्न सकस भएको छ । माओवादी केन्द्रका एक नेताका अनुसार प्रदेश अध्यक्षका लागि पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वमन्त्री नरेश भण्डारी, टेकबहादुर बस्नेत, राजकुमार शर्मा र रामदीप आचार्यले दाबी गरिरहेका छन् ।

केन्द्रले वर्तमान अध्यक्ष राजकुमार शर्मालाई नै प्रदेश अध्यक्ष बनाउन दबाब दिएको छ भने अन्य नेताहरूले अध्यक्षमा आफ्नो दाबी छाडेका छैनन् ।

माओवादीका एक नेताका अनुसार केन्द्रले जे भन्छ त्यही हुनेछ । सकेसम्म पुरानो कमिटीलाई नै निरन्तरता दिने कि भन्ने बारेमा पनि नेताहरूमा बहस भइरहेको उनले जानकारी दिए ।

ती नेताका अनुसार २११ जनाको प्रदेश कमिटी आजै(मंगलबार) बनाउन र नौ जना पदाधिकारीको टुङ्गो केन्द्रले लगाउने विषयमा छलफल चलिरहेको उनले बताए ।

‘विभिन्न विकल्पका विषयमा छलफल जारी छ’, उनले भने, ‘सकेसम्म सर्वसम्मत नेतृत्व चयन हुन्छ ।’