माओवादीबाट को-को बन्दैछन् मन्त्री ? परराष्ट्रमा शक्ति बस्नेतको चर्चा

माओवादीबाट को-को बन्दैछन् मन्त्री ? परराष्ट्रमा शक्ति बस्नेतको चर्चा


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएपछि मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन् । दाहालको दल माओवादी केन्द्रले ६ जना मन्त्री पाउंने सहमति गठबन्धनमा आवद्ध दलहरुको विचमा भएको छ । तर,मन्त्रालयको बांडफांडबाट भने अहिलेसम्म टुंगिएको छैन् ।

माओवादीले परराष्ट्र मन्त्रालय लिनेमा जोड गरेको छ । परराष्ट्र माओवादीको भागमा परे पूर्व गृहमन्त्री समेत रहेका माओवादी उपमहासचिव शक्ति बस्नेतलाई जिम्मेवारी दिने तयारी छ ।

प्रधानमन्त्री दाहाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत मन्त्रिमण्डल विस्तारमा सजिलो बनाउनुपर्ने भनाई राख्दै आएको स्रोत बताउंछ । उनी यसपटक दाहाललाई मन्त्रालय रोज्न र संख्यामा समेत लचिलो हुने देखिएको बताइन्छ । तर, गठबन्धनमा आवद्ध दलहरु राप्रपा,रास्वपा,जसपा र स्वतन्त्रहरुले शक्तिशाली र धेरै मन्त्रालय मागेपछि प्रधानमन्त्री दाहाल अफ्ठेरोमा परेका छन् ।

माओवादी केन्द्रबाट अहिले दाहालसहित उपप्रधानमन्त्री एवंम् भौतिक,पूर्वाधार तथा यातायात मन्त्रालय लिएर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सरकारमा गइसकेका छन् । यद्यपी श्रेष्ठ यसमा सन्तुष्ट नभएको स्रोत बताउंछ । उनले परराष्ट्र वा गृह लिएर सरकारमा जाने चाहना व्यक्त गरेपनि उनको नाममा सहमति नभएको बताइन्छ ।

श्रेष्ठ चुनावमा पराजित भएर राष्ट्रियसभा हुंदै मन्त्रीमण्डलमा सहभागी भएपनि उनि वरियतामा पछाडी राखिएको भन्दै असन्तुष्ट छन् । तर, श्रेष्ठ यसपटक जसरी पनि मन्त्री बन्न लागेका थिए । उनको कोटाबाट यसअघि माओवादीले शिक्षा वा स्वास्थ्य मन्त्रालय लिएर लाभ लिने गरेको थियो । यसपटक पनि श्रेष्ठले मालदार मन्त्रालय रोजेका छन् ।

माओवादीमा मन्त्री वन्न नेता वर्षमान पुन समेत दौडमा थिए । उनले गृहमन्त्रालय मागेको भएपनि उक्त मन्त्रालय पुनलाई नदिन दाहाललाई भित्र र बाहिर दुवैबाट दबाव आएको माओवादी स्रोत बताउंछ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सुरुमा संचार लिने इच्छा देखाएपछि अन्तिममा गृहमा अडान लिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । पुनले मुख्यसचिव शंकरदास वैरागीसंग गृहमन्त्रालय लिन लागेको भन्दै छलफल समेत गरिसकेका थिए ।

यद्यपी माओवादी उपमहासचिव पुनले आफु मन्त्री बन्ने दौडमा नरहेको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । उनले आफु मात्र नभई दोस्रो पुस्ताका नेताहरु सरकारमा सहभागी नहुने दावी गरेका छन् ।

माओवादीबाट अव एमाले महासचिवलाई चुनावमा पराजित गर्ने रेखा शर्मा मन्त्री बन्ने लगभग निश्चित छ । कर्णालीबाट शक्ति बस्नेत, एक नम्बरबाट अमनलाल मोदी, मधेष प्रदेशबाट महेन्द्रराय यादव ,वागमतिबाट माधव सापकोटा र हितबहादुर तामाङमध्ये एक जना मन्त्री हुने सम्भावना छ ।

एक नम्बर प्रदेशबाट सुदन किराती मन्त्री भए राज्यमन्त्रीका रुपमा रुपा चौधरीलाई मन्त्री बनाउनेबारे माओवादीभित्र छलफल चलेको छ । किराती तीन पटक निर्वाचित सांसद समेत हुन् ।