सरकारविरुद्ध माओवादीको जनप्रदर्शन आज

सरकारविरुद्ध माओवादीको जनप्रदर्शन आज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले सरकार सय दिनमा पूर्ण असफल भएको निष्कर्ष निकाल्दै भ्रष्टाचार र बेथितिविरुद्ध केन्द्रित रहेर आज काठमाडौंमा जनप्रदर्शनसहित खबरदारी सभा गर्दैछ ।

माओवादीले बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको संयुक्त पहलमा जनप्रदर्शनसहित खबरदारीसभा गर्न लागेको हो । सभामा काठमाडौं उपत्यका र आसपासका जिल्लाका पालिकाहरुबाट कार्यकर्ताहरुको सहभागिता रहने छ ।

बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा गर्न लागिएको जनप्रदर्शनसहित खबरदारी सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्वोधन गर्नेछन् । प्रदर्शनमा ३० हजार कार्यकर्ता काठमाडौंमा उतार्ने माओवादीको तयारी छ । भद्रकाली, सुन्धारा र काठमाडौं मल अगाडि कार्यकर्ताहरु भेला हुनेछन् । त्यसपछि जुलुस सुरु हुने छ । जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डप अगाडीको सडकमा पुगेर सभामा परिणत हुने छ । अपराह्न चार बजेभित्र सम्पन्न हुने सभाका लागि राष्ट्रिय सभागृह अगाडिको सडकमा मञ्च तयार गरिएको छ ।

सरकारको सय दिनको कामको समीक्षा गर्दै प्रधानमन्त्री ओलीलाई १३ बुँदे ज्ञापनपत्र पनि बुझाइसकेको माओवादीले माग पुरा नभए तिहार र छठ पर्वपछि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ ।

माओवादीले आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई अहिलेको सरकारले कमजोर बनाउन षड्यन्त्र गरेको र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न नचाहेको आरोप लगाउँदै देशभरि नै आन्दोलन गर्ने तयारी गरेको छ ।

पेरिसडाँडामा बसेको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जन वर्गीय संगठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकले आजको आन्दोलनको निर्णय गरेको थियो ।