काठमाण्डु – माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ ।
बुधबार बसेको स्थायी कमिटी बैठकले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले संसद दुई वर्ष चल्नुपर्छ भन्ने पक्षमा आफूहरु रहेको बताए । उनले आफूहले सरकारको समर्थन फिर्ता लिन ज्योतिषीलाई देखाउन नपर्ने बताए ।
‘फिर्ता लिनका लागि अदालतले वा ज्योतिषीले मिति दिएको छ र ? त्यो त हाम्रो पार्टीले निर्णय गर्ने हो । समग्र परिस्थितिबारे विश्लेषण गरेर निर्णय लिन्छौँ । मूल ध्यान दुई वर्ष सदन चलाउनुपर्छ भन्नेमा छ,’ उनले भने ।
त्यस्तै बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सरकार गठनका लागि थप छलफल गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रका मन्त्री अहिले पनि सरकारमा छन् ।
गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, उर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु शाह, खानेपानीमन्त्री मणि थापा र श्रममन्त्री गौरीशंकर चौधरी माओवादी केन्द्रबाट सरकारमा छन् । तर, उनीहरुले माओवादी केन्द्रमा नफर्किने र एमालेमा समाहित हुने बताउँदै आएका छन् ।




प्रतिक्रिया