माओवादी पदाधिकारी बैठकमा आज प्रचण्डले जवाफ दिने

माओवादी पदाधिकारी बैठकमा आज प्रचण्डले जवाफ दिने


काठमाण्ड-माओवादी केन्द्रको जारी पदाधिकारी बैठक आज पनि बस्दैछ । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिदै छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबारदेखि सोमबारसम्म केन्द्रीय कार्यालय (पदाधिकारी) बैठकमा नेताहरूले धारणा राखेका हुन् । २२ सदस्यीय कार्यालय सदस्यहरूले धारणा राख्ने क्रम सोमबार सकिएको छ । सदस्यहरूले उठाएका विषयसहित अध्यक्ष प्रचण्डले आज संश्लेषणात्मक धारणा राख्नेछन्

पदाधिकारीहरुले आफ्नो धारणा राख्ने क्रम सकिएपछि अध्यक्ष प्रचण्डले बैठकमा उठेका सवालमाथि जवाफ दिन लागेका हुन् । बैठकमा धारणा राख्ने अधिकांश नेताहरुले अहिले संगठन निर्माणमा लाग्न उपयुक्त हुने जनाउँदै सत्ता बाहिर रहेका बेला पार्टी निर्माणमा जुट्नु पर्ने बताएका छन् ।

चार दिनको बैठकमा धारणा राखेका १८ पदाधिकारीले वर्ग भुल्दा पार्टी खुम्चिएको निष्कर्ष निकाल्दै पार्टी बनाउने जनतामै फर्किनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियता, जनजीविका, महँगीलगायतका विषय सशक्त रूपमा उठाउनुपर्ने, ७७ वटै जिल्लामा केन्द्रीय नेताहरू अभियानसहित खटिनुपर्ने, माओवादी नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा गरेका कामबारे जनतालाई स्पष्ट पारेर जानुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

बैठकमा सहभागी वक्ताहरुले सरकारमा रहदा पार्टीले गरेका राम्रो काम जनतामाझ लैजाँदै एकजुट भएर जनतामाझ जान उपयुक्त समय रहेको धारणा राखेका छन् । बैठकले स्थायी कमिटी र लगत्तै केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय पनि गर्ने छ ।