काठमाण्डु-माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बस्नेछ ।
बैठकमा आज पनि नेताहरुले आफ्ना धारणा राख्ने क्रम जारी रहनेछ । साथै पछिल्ला राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उत्तराधिकारीको खोजीको विषयमा पनि बहस सुरु भएको छ ।
उत्तराधिकारी तयार पार्ने कुरामा सिद्धान्त, विचार, विधि र संगठनमा राम्रो तयारी गर्नुपर्ने भएकाले यस विषयमा बैठकमा सदस्यहरूले छलफल गरेका हुन् ।
साथै, बैठकमा वक्ताहरूले नेतृत्वले सही मूल्याङ्कन गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । बैठकमा वैज्ञानिक मापदण्ड बनाएर मूल्याङ्कन गर्ने परिपाटी बसाल्नुपर्नेमा वक्ताहरूले जोड दिए ।
हिजोसम्म १४ जनाले आफ्नो धारणा राखेको र अधिकांशले वैज्ञानिक मापदण्ड बनाएर मूल्याङ्नको परिपार्टी बसाल्नुपर्नेमा जोड दिएका छन् ।
यस्तै बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टी दिन प्रतिदिन असफलतातिर जानुको जिम्मेवारी मूल नेतृत्व र नेतृत्वको टिमले नलिएको भन्दै असन्तुष्टि जनाएका छन् । उपमहासचिव शर्माले पेश गरेको लिखित दस्तावेजमा उनले नेतृत्वको कारण अहिले पार्टीमा रहेको सबै असन्तुष्टि बोकेर बाँचिरहेको उल्लेख गरेका छन् ।
त्यस्तै, माओवादीको जनाधार खस्किँदै जानुमा जनता नभएर माओवादीले नै उठाएको नारा र आश्वासन रहेको उनको ठहर छ । शान्ति प्रक्रियापछि माओवादीको तौरतरिका युद्धकालीनभन्दा फरक नभएको, सम्बन्ध, जनसम्पर्क सही नभएको र माओवादीको बसाइ, उठाइ र रहनसहन राजा महाराजाको जस्तो भएकाले जनताले मन नपराएको उपमहासचिव शर्माको बुझाइ छ ।




प्रतिक्रिया