माओवादी केन्द्रको बैठकमा प्रदेश इन्चार्जले रिपोर्टिङ, पार्टीको नाम परिवर्तनबारे के भयो ?

माओवादी केन्द्रको बैठकमा प्रदेश इन्चार्जले रिपोर्टिङ, पार्टीको नाम परिवर्तनबारे के भयो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रको बैठकमा पार्टीको नाम परिवर्तनबारे छलफल भएको छ । नाम परिवर्तनबारे निरन्तर छलफल गरेर अन्तिम निष्कर्षमा पुग्ने नेताहरुले बताएका छन् ।

आइतबार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकमा पार्टीको नाम परिवर्तनबारे छलफल भएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्ने प्रस्ताव राखेका छन् ।

प्रचण्डले यसअघि बसेको स्थायी समिति बैठकमा सहमति भए बमोजिम पार्टीको नाम नेकपा माओवादीबाट हटाएर ‘नेपाली कम्युनिस्ट पार्टी’ राख्न प्रस्ताव गरेका थिए । उनले राखेको प्रस्तावबारे नेताहरुले आफ्ना धारणा राखिरहेका छन् ।

२०७५ जेठ ३ गते नेकपा एमालेसँग एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेकोमा सर्वोच्च अदालतले गत फागुन २२ गते नेकपा एमाले र माओवादी केन्द्र ब्यूताईदिएको थियो ।

त्यसपछि पूर्ववत अवस्थामा फर्किएको माओवादी केन्द्रले पार्टी एकताको भाव मेटिने र अन्य पार्टीबाट एकीकरणमा आउन चाहनेलाई पनि नामले अप्ठेरो पार्ने भएपछि नाम फेर्ने प्रस्ताव आएको थियो ।

त्यस्तै बैठकमा प्रदेश इन्चार्ज र विभागीय प्रमुखहरुले रिपोर्टिङ गरेका छन् । उनीहरुले राजनीतिक र सांगठानिक अवस्थाबारे रिपोर्टिङ गरेका हुन् ।

बैठकमा प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेका थिए ।

आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे कुनै निर्णय नलिएको बताइएको छ । अर्को बैठक पुनः भोली बिहान ११ बजेका लागि बोलाइएको छ ।