माओवादीको पदाधिकारी चयनमा लफडा, आजको केन्द्रीय कमिटी बैठक स्थगित

माओवादीको पदाधिकारी चयनमा लफडा, आजको केन्द्रीय कमिटी बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आइतबार बिहान ११ बजेका लागि तय गरिएको बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको थियो ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे उठेका प्रश्नको जवाफ दिने, केन्द्रीय कमिटीको पूर्णता, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने एजेण्डा तय थियो । तर, पदाधिकारी चयनमा नेताहरुबीच भागबण्डा नमिलेपछि भोलि बिहान ११ बजेसम्मलाई बैठक नै स्थगित गरिएको माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले बताए ।

गत पुस १८ गते सम्पन्न माओवादीको आठौँ महाधिवेशनले २३६ केन्द्रीय सदस्य चयन गरेर ६३ जना केन्द्रीय सदस्य पछि चयन गर्ने गरी अपुरो केन्द्रीय समिति घोषणा गरेको थियो । त्यसपछि पुस १९ गतेको केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो ।

माओवादीमा अध्यक्षबाहेकका अन्य पदाधिकारी पद हालसम्म खाली छ । माओवादीको पदाधिकारीमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुईजना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान छ । तर अहिले अन्य पदभन्दा पनि सो पार्टीमा महासचिव को बन्ने भन्नेमा सबैको हानाथाप छ ।

माओवादीको महासचिवमा वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, देव गुरुङ, पम्फा भुसाललगायतले दावी गरेका छन् । तर आन्तरिक समीकरण मिलाउन नसक्दा माओवादीभित्र पदाधिकारी चयनमा सकस देखिएको छ ।

यस्तै केन्द्रीय कमिटीलाई पूर्णता दिन, पोलिटब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा पनि आकांक्षी धेरै हुँदा व्यवस्थापनमा चुनौति देखिएको बुझिएको छ ।