काठमाण्डु – नेकपा माओवादी केन्द्रले तत्काल पदाधिकारी चयन नगर्ने भएको छ । आज बस्ने केन्द्रीय समिति बैठकका लागि केन्द्रीय समितिलाई पूर्णता दिने, पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीलाई पूर्णता दिने, पार्टी नेताको कार्यविभाजन, स्थानीय निर्वाचन लगायतका एजेण्डा तय गरिएको थियो ।
तर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा सोमबार बिहान बसेको शीर्ष नेताहरुको अनौपचारिक बैठकले आगामी बैशाख ३० मा हुने स्थानीय चुनावपछि मात्रै पदाधिकारी छान्ने तयारी गरेको हो ।
माओवादी नेता देव गुरुङले पदाधिकारी चयनमा सहमति जुट्न नसकेकाले स्थानीय चुनावपछि मात्रै पदाधिकारी चयन गरिने जानकारी दिए । ‘सहमतिबाटै पदाधिकारी चयनको प्रयास भइरहेको छ । सहमति हुन नसके वैशाखमा हुने स्थानीय तहको निर्वाचनपछि मात्रै पदाधिकारी चयन गर्ने तयारी छ’ उनले बैठकस्थलमा सञ्चारकर्मीहरूसँग भने ।
आजको बैठकले केन्द्रीय पदाधिकारी, पोलिटब्युरो, केन्द्रीय समितिलाई पूर्णता दिने तयारी गरेकाे उनले बताए । शुक्रबार सुरु भएको सो पार्टीको बैठक आइतबारका लागि तय भएपनि पदाधिकारी चयनमा लफडा भएपछि स्थगन गरेर नेताहरु सहमतिको प्रयासमा जुटेका थिए । तर, महासचिव लगायतका पदमा सहमति नजुटेपछि माओवादीमा पदाधिकारी चयन नगरी बैठक सक्ने तयारी भएको हो ।
माओवादीको महासचिवमा वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, देव गुरुङ, पम्फा भुसाललगायतले दावी गरेका छन् । तर आन्तरिक समीकरण मिलाउन नसक्दा माओवादीभित्र पदाधिकारी चयनमा सकस देखिएको छ ।




प्रतिक्रिया