काठमाण्डु – नेकपा माओवादी केन्द्रले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएपछि मात्र मन्त्रिपरिषद विस्तार हुने बताएको छ ।
सोमबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले दलसम्बन्धी कानुनी जटिलता हटेपछि मात्रै मन्त्रिमण्डल विस्तारका लागि अघि बढ्ने निर्णय गरेको हो ।
माओवादी केन्द्रका संसदीय दलका नेता देवप्रसाद गुरुङले पहिला राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता भएपछि मात्र मन्त्रिपरिषद् विस्तारका लागि अघि बढ्ने निर्णय भएको बताए । सरकारले आज मन्त्रिपरिषद बैठक राखेर संसदको अधिवेशन अन्त्य गर्दै अध्यादेश फिर्ता लिने तयारी गरेको छ ।
यस्तो अवस्थामा बसेको बैठकले मन्त्री हुनेहरुको अन्तिम सूची टुङ्गाउने अपेक्षा गरिएको थियो । तर, पाँच दलका बीचमा कुरा टुंगो भएपछि मात्र त्यसबारे छलफल गर्ने निर्णय भएको नेता गुरुङले बताए ।
त्यस्तै बैठकले यसअघि तय भएको महाधिवेशनलाई प्रभावित नपार्ने गरि तल्ला तहका सम्मेलन केही पर सार्ने निर्णय गरेको छ । कात्तिक ६ गते टोल, १३ वडा सम्मेलन र मंसिरमा ४ स्थानीय पालिकाको अधिवेशन गर्ने निर्णय भएको नेता गुरुङले जानकारी दिए । उनले प्रदेश र केन्द्रको अधिवेशन चाँही नसार्ने बताए ।




प्रतिक्रिया