काठमाण्डु – नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच एकता हुने चर्चा परिचर्चा राजनीतिक वृत्तमा चलिरहेको छ ।
कहिले नेपाली कांग्रेसको काधमा चढेर त कहिले नेकपा एमालेको काधमा चढेर १८ महिना सत्ता चलाएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल दुई दल मिलेपछि प्रतिपक्षमा गुग्दा पार्टीभित्रै अफ्ट्यारोमा परेका छन् । पार्टी स्थायी समिति बैठकमा नेतृत्व परिवर्तनको बहस चर्को रूपमा उठेपछि अरु पाटीृलाई मिलाएर आफू बलियो बन्ने रणनीति बनाएका छन् ।
पार्टीभित्रैसमेत घेराबन्दी बढेपछि वामपन्थी एकताको तुरुप फ्याँकेर फेरि आफूलाई शक्तिमा फर्काउने प्रयासमा लागेका दाहालले नेकपा एकीकृत समाजवादीसँग एकताको पहल गरेका हुन् । दाहालले एकीकृत समाजवादीका अध्यक्ष पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग एक सातामै दुई पटक भेट गरिसके ।
बिहीबार नेपाल दाहाललाई भेटन खुमलटारमा पुगेका थिए । भेटमा माओवादीसँग एकताको लागि अध्यक्ष नेपाल सकारात्मक भएको माओवादी नेताहरूले बताएका छन् । अर्कोतर्फ एकीकृत समाजवादी पार्टीका नेताहरू भने एकताबारे पार्टीमा कुरै नउठेको बताउँछन् ।
एकताबारे छलफल गर्न सोमबार दाहाल नेपालको कोटेश्वरस्थित निवासमै पुगेका थिए । एकतापछि पार्टीको नाम समाजवादी कम्युनिष्ट पार्टी वा नेकपा समाजवादी राख्नदेखि चुनाव चिन्ह कलम नै राख्न पनि आफू तयार हुने दाहालले बताएको एकीकृत समाजावदीका एक नेताले बताए ।
माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले बिहिबार नेकपा एकीकृत समाजवादीसँग एकताको लागि घनिभूत छलफल भइरहेको बताए ।
स्थायी समिति बैठकपछि पत्रकारहरूसँग प्रवक्ता सापकोटाले भने, ‘देशभक्त प्रगतिशील शक्तिको मोर्चा आवश्यक छ । त्यसका लागि बृहत्त वामपन्थी एकीकरण आवश्यक छ । कम्युनिष्ट पार्टीको पुनर्गठन पनि गर्नुपर्छ । हामीले पहिला पनि एकता गरेपनि त्यसको रक्षा हुन सकेन । अब फेरि जनताको चाहना अनुसार छलफल बहस भइरहेको छ ।’
सापकोटाले माधव नेपालसहित मोर्चामा आबद्ध सबै कम्युनिष्टहरुसँग एकताको घनिभूत छलफल चलिरहेको बताए ।
यता, नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगननाथ खतिवडाले कुनै पनि पार्टीसँग एकीकरण गर्ने कुरा नचलेको भन्दै सापकोटाको भनाइको खण्डन गरेका छन् । कम्युनिष्ट पार्टीहरुको वीचमा समसायिक परिस्थितिबारे समीक्षा भइरहेको उनले बताए ।
‘समाजवादी मोर्चाको गतिविधि बढाइ वामन्थीहरुको बीचमा न्यूनतम सहकार्य अगाडि बढाउन पहल गरिरहने हाम्रो नीति नै हो । त्योभन्दा बढी केही छैन’, प्रवक्ता खतिवडाले भने ।
उनले पार्टी एकताको प्रचारबाट नबहकिन आग्रह समेत गरेका छन् । ‘सबै राजनीतिक दलका आ आफ्नो कार्यनीति हुन्छन्, त्यसमा हामी बहकिन हुँदैन’, उनले भने, ‘कलम चिह्न हाम्रो विशेष परिचय हो, यो परिचयलाई मेट्ने गरी पार्टीले कुनै काम गर्दैन ।’




प्रतिक्रिया