काठमाण्डु – नेकपा (माओवादी केन्द्र)को सुदूरपश्चिम प्रदेशमा पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिममा पार्टी भित्र देखिएको विवाद समाधान गर्न दिएको निर्देशन पटक पटक अवज्ञा मात्र भएको छैन, विवाद समाधान हुने छाँटकाँट पनि देखिएको छैन ।
पार्टीको संसदीय दलभित्र उत्पन्न विवाद मिलाउन प्रदेश पार्टी नेतृत्वलाई अध्यक्ष प्रचण्डले पटक पटक निर्देशन दिएका थिए तर पनि विवाद अझै साम्य हुन सकेको छैन ।
सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्र तेस्रो ठूलो दल छ । तर, प्रमुख प्रतिपक्षी दल भएपनि आन्तरिक किचलोका कारण प्रदेशसभा र सरकारलाई निगरानी गर्ने सवालमा खरो उत्रन सकेको छैन ।
२ वटा समूहमा विभाजित माओवादी केन्द्रको संसदीय दललाई एक ढिक्का बनाउन पार्टी अध्यक्ष प्रचण्डले पटक–पटक लिखित र मौखिक निर्देशन जारी गरेका थिए । तर पनि कार्यान्वयन हुन सकेको छैन । विवाद उल्टै झन्झन् गहिरिँदै गएको छ । यद्यपी संसदीय दलभित्र उत्पन्न विवाद समाधान गर्न आइतबार प्रदेश सभा सदस्यहरूले पहिलोपटक सामूहिक छलफल गरे पनि निष्कर्षमा पुग्न सकेका छैनन् ।
अध्यक्ष दाहालको ५औँ निर्देशनपछि बल्ल संसदीय दलमा नेता हेरफेरको विषयमा छलफल भएको हो ।
छलफलले कुनै निर्णय नगरेपनि झण्डै एक वर्ष लामो विवाद समाधान गर्न र अध्यक्ष दाहालले दिएको निर्देशन पहिलोपटक छलफलमा प्रवेश गरेको हो ।
विवादको कारण
माओवादीको सुदूरपश्चिम प्रदेशमा सहइञ्चार्जमा नेतृ बिना मगर र खगराज भट्ट छन् । भट्ट संसदीय दलको नेता भए पनि उनलाई हटाएर उपमहासचिव वर्षमान पुन निकट नेता मानबहादुर धामी १२ माघ २०८० मा संसदीय दलको नेता भए । त्यतिबेला पार्टी पनि सरकारमा थियो । सभामुखबाहेक १० जना सांसद रहेको माओवादी केन्द्रका ६ जना सांसदले बहुमतका आधारमा भट्टलाई हटाउने निर्णय गर्दै अर्का नेता धामीलाई दलको नेता बनाएपछि माओवादी संसदीय दल २ चिरामा बाँडिएको हो ।
माओवादीमा सुदूरपश्चिम संसदीय दलमा ११ जना सांसद छन्, जसमा धामीको पक्षमा बहुमत सांसद छन् ।
उपमहासचिव पुन निकट समूहले भने पार्टीको नेतृत्व आफ्नो पक्षलाई दिनुपर्ने आवाज उठाउँदै आएका छन् । अध्यक्ष दाहालले संसदीय दलको नेतामा भट्टलाई बनाउन मौखिक र लिखित निर्देशन दिए पनि धामी पक्षले त्यसलाई कार्यान्वयन गरेको छैन । विवादको जरो यहीँबाट सुरु भएको प्रदेश नेताहरू बताउँछन् ।
सुदूरपश्चिममा उपमहासचिव जनार्दन शर्मा समूहसमेत बलियो अवस्थामा छ । तर, संसदीय दलमा भने उनको उपस्थिति कमजोर छ । धामी पक्षका एक नेताले दलका नेता परिवर्तन गर्ने हो भने प्रदेशको इन्चार्ज आफ्नो समूहलाई दिनुपर्ने बताउँछन् ।
सुदूरपश्चिममा नेता भट्ट र कन्चनपुरबाट प्रतिनिधित्व गर्ने सांसद ओमविक्रम भाटबीच पनि विवाद उत्कर्षमा छ । भाटकै योजनामा भट्टलाई दल नेताबाट हटाइएको बताइन्छ । भाटलाई नेता भट्टले केन्द्रको निर्देशन हुँदाहँंदै मन्त्री सिफारिस नगरेपछि उनले दल नेता परिवर्तन गर्न भूमिका निर्वाह गरेको हुन सक्ने चर्चा पनि माओवादीभित्र छ ।
के भयो छलफलमा ?
छलफलमा दलभित्र देखिएको विवाद समाधान गर्ने विषयमा सामान्य कुराकानी भएको नेताहरूले बताएका छन् । उनीहरूले छलफलको सुरुवात मात्र भएकाले अहिले नै निष्कर्षमा पुग्न हतार हुन्छ ।
तर औपचारिक र अनौपचारिक रूपमा निरन्तर संवाद गर्दै समस्याको समाधान निकाल्ने प्रयास हुने नेताहरूको भनाइ छ ।
१४ फागुनमा सुदूरपश्चिमका सबै प्रदेश सभा सदस्यलाई खुमलटार बोलाएर छलफल गरेका अध्यक्ष प्रचण्डले पुनः भट्टलाई नै दलको नेता बनाउन निर्देशन दिएका थिए । त्यसयता पहिलोपटक प्रदेश सभा सदस्यहरू सामूहिक छलफलमा बसेका हुन् ।
छलफलमा भट्टलाई दलको नेता बनाउँदा अन्य नेताहरूको व्यवस्थापन कसरी गर्ने? भन्ने विषयमा समेत चर्चा गरिएको छ । आइतबारको छलफलपछि लामो समयदेखिको संवादहीनताको अवस्था अन्त्य भएको नेताहरूको भनाइ छ ।




प्रतिक्रिया