काठमाण्डु – नेकपा माओवादी केन्द्र काठमाण्डु महानगरपालिका ३२ समितिले कोरोना भाइरस संक्रमणविरुद्धको खोप अभियानका क्रममा भएका केही घटना प्रति आपत्ति जनाएको छ ।
सरकारले दिएको कोरोनाविरुद्धको खोप तोकिएको कार्यविधि विपरित तथा तोकिएको उमेर समूह बाहेकका अन्य व्यक्तिहरूलाई वितरण गरेको भन्दै आपत्ति जनाएको हो ।
संयोजक पदमकुमार रेग्मीले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्धको खोपको दुरुपयोग तथा अनियमितता भएका उजुरीहरू पार्टीको वडा कमिटीमा आएको बताएका छन् । विज्ञप्तिमा कथित अराजक झुण्डहरुले पत्रकार, मानव अधिकारकर्मी, वृद्धवृद्धा तथा लाभग्राहीलाई अपशब्द प्रयोग गरेको र दुर्व्यवहार गरेको उल्लेख छ ।
संयोजक रेग्मीले यस्ता संवेदनशिल विषयहरूमा तत्काल छानविनको प्रक्रिया अघि बढाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । विज्ञप्ति मार्फत कोरोना खोपको पहिलो डोज र दोस्रो डोज लगाएका व्यक्तिहरूको प्रमाणित विवरण तत्काल सार्वजनिक गर्न नभए जनस्तरबाटै प्रतिवाद गर्ने चेतावनी दिइएको छ ।





प्रतिक्रिया