माओवादीमा सहमति जुट्न सकेन, पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो निर्वाचनमार्फत टुंगो लगाउने


काठमाण्डु – नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक बोलाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघ २७ गतेका लागि बैठक बोलाएका हुन् ।

बैठकले पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरोको निर्वाचन गर्ने, बाँकी रहेको केन्द्रीय समितिलाई पूर्णता दिँदै कार्यविभाजन समेत गर्ने माओवादीले जनाएको छ ।

माओवादीमा सर्वसम्मतिमा पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो टुंगो लाग्न नसकेपछि पार्टीको ८औं महाधिवेशन सकिएको करिब डेढ महिनापछि केन्द्रीय समितिबाट निर्वाचन गर्न लागिएको हो ।

यस्तै, केन्द्रीय समितिको अर्को निर्णय नभएसम्म यसअघिका सबै प्रदेश समिति, जिल्ला समन्वय समिति, विभाग र जनवर्गीय संगठनहरुको इन्चार्ज यथावत रहनेछन् ।

यसअघि पुस ११ देखि १८ गतेसम्म काठमाण्डुमा भएको महाधिवेशन केन्द्रीय समिति घोषणा गर्दै सकिएको थियो । माओवादी विधानमा पदाधिकारी केन्द्रीय समितिले गर्ने उलेख छ । प्रचण्ड भने नयाँ समितिबाट अध्यक्षमा अनुमोदित भइसकेका छन् ।

यसैगरी, प्रचण्डले माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा पाँचदलीय गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आआफ्नो ठाउँबाट लाग्न निर्देशन समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement