काठमाण्डु – गत वर्ष साउनमा भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा १४ पृष्ठ लामो छुट्टै लिखित प्रस्ताव पेश गर्दै उपमहासचिव जनार्दन शर्माले पार्टी पुनर्गठनको प्रस्ताव गरे । तर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपछि उनको प्रस्ताव मत्थर भयो । त्यतिबेला शर्माको प्रस्ताव सम्बोधन भएको देखिने गरी माओवादीमा कुनै परिवर्तन भएको थिएन ।
यसपालि पनि साउनमा उपमहासचिव शर्मा फेरि तातेका छन् । केही दिनयता उनले सामाजिक सञ्जालमार्फत पार्टी पुनर्गठनको प्रस्तावलाई बहसमा ल्याएका छन् ।
पोहोर सालको प्रस्तावमा शर्माले सरकारबाट बहिर्गमन हुनुको कमजोरीबारे बहस छेडेका थिए भने यसपालि गृहमन्त्री रमेश लेखकसँग जोडिएको भिजिट भिसा प्रकरणमा गरिएको २ बुँदे सहमतिलाई कमजोरी ठानेका छन् । शर्माले छुट्टै बहस चलाउन थालेपछि अध्यक्ष प्रचण्ड पक्षधरले उनको आलोचनादेखि भित्रभित्रै स्पष्टीकरण सोध्नुपर्नेसम्मको माग राख्न थालेका छन् ।
गत वर्ष साउन जस्तै यो वर्षको साउनमा उनले अगाडि सारेका पार्टी पुनर्गठनका प्रस्तावहरू त्यसै बिलाएर जाने त होइनन् भन्ने अनुमान गर्न थालिएको छ । उपमहासचिव शर्माको साउने हुटहुटीको बिसर्जन कसरी होला ? हेर्न बाँकी छ ।
उनले पार्टीमा छुट्टै बहस चलाउन खोज्दा लाग्दै आएको पार्टी विभाजन गर्न खोजेको आरोप पुन: लागेको छ । जसलाई उनले सामाजिक सञ्जालमै लेखेर प्रस्ट पार्नुपर्ने भयो । उनले मंगलबार फेसबूकमा लेखे, ‘विगत २ वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गर्दछु ।’
मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको सन्दर्भमा अब पार्टीमा एजेण्डा केन्द्रित बहस गर्दै पार्टीको पुनर्गठन, सुदृढ र व्यवस्थित गर्न उनले प्रस्ताव गरेका छन् । हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) अभियानबाट आर्जेको ऊर्जालाई सत्तारुढ दलसँग भिजिट भिसा प्रकरणमा गरेको २ बुँदे सहमतिपश्चात गिरेको पार्टीको साखलाई पुन: माथि उठाउन गम्भीर आत्मसमीक्षा गर्दै एजेन्डा केन्द्रित बहसमा केन्द्रित हुन उनले आग्रह गरेका छन् । २ बुँदे सहमतिमा अध्यक्ष प्रचण्ड समेतको संलग्नता भएकाले उनले अध्यक्षकै आत्मसमीक्षाको माग गरेको देखिन्छ ।
यतिबेला सिङ्गै देश, जनता र राजनैतिक पार्टीहरू गम्भीर संकटबाट गुज्रिरहेको निष्कर्ष निकाल्दै उनले संकटको समाधान संविधानको संशोधन, अर्थतन्त्रको पुन:संरचना र पार्टीको पुनर्गठन भएको ठहर गरेका छन् । पार्टी पुनर्गठनको कुरा आउँदा पनि अध्यक्ष प्रचण्डबाट नेतृत्व पुस्तान्तरण गर्न खोजेको संकट गर्छ ।
पार्टी नेतृत्वबाट भएका काम–कारवाही र निर्णयमाथि छलफल र समीक्षा हुनुपर्ने माग गर्ने हिम्मत उपमहासचिव शर्माले गरेका छन्, तर उनले यसलाई टुंगोमा पुर्याउन सक्छन् कि सक्दैनन् ? हेर्न बाँकी छ । किनकि अध्यक्ष प्रचण्डको कार्यशैलीलाई बहसको विषय बनाउनेतिर अधिकांश केन्द्रीय नेताहरूको रुचि देखिँदैन ।
भित्रभित्रै कारवाहीको दबाब
अध्यक्ष प्रचण्डमाथि नै समीक्षा गर्नुपर्ने गरी उपमहासचिव शर्माले बहस अगाडि बढाएपछि उनलाई कारवाही गर्नुपर्ने माग माओवादीमा भित्रभित्रै उठेको स्रोतले जनाएको छ । अर्का उपमहासचिव वर्षमान पुन लगायत नेताहरूले नेतृत्वविरुद्ध बोलेर नेता बन्ने प्रवृत्ति उपयुक्त नहुने सुझाव दिएका बेला कतिपय नेताहरूले भने शर्मालाई स्पष्टीकरण सोधेर कारवाही प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरेका छन् ।
माओवादीभित्र शर्मा विरोधी गुटमा रहेका केन्द्रीय नेताहरूले यहीँ मौका उपयोग गर्दै शर्माका गतिविधिलाई कारवाहीको विषय बनाउन खोजेका छन् । उपमहासचिव शर्माले पार्टीमा नयाँ बहस छेडेका बेला पार्टी पदाधिकारी र स्थायी कमिटी बैठक बस्दैछन् ।




प्रतिक्रिया