जेनजीका मागलाई समर्थन गर्दै अगाडि बढ्ने माओवादीको प्रतिबद्धता

जेनजीका मागलाई समर्थन गर्दै अगाडि बढ्ने माओवादीको प्रतिबद्धता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजयादशमीका अवसरमा स्वदेश तथा देशबाहिर रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।

सोमबार शुभकामना सन्देश दिँदै उनले दशैंको अवसरमा सबैलाई सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायु, समृद्धि र निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका हुन् ।

पार्टीले जेनजीका मागलाई समर्थन गर्दै र पछिल्लो राजनीतिक अवस्थाले सिर्जना गरेको मनोविज्ञानलाई आत्मसात् गर्दै संगठनात्मक शुद्धीकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको पनि उनले बताए ।

उनले भने, ‘हाम्रो पार्टीले जेनजीका मागलाई समर्थन गर्दै र पछिल्लो राजनीतिक अवस्थाले सिर्जना गरेको मनोविज्ञानलाई आत्मसात गर्दै संगठनात्मक शुद्धीकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको छ । हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गम्भीर समीक्षासहित आगामी मंसिरमा विशेष महाधिवेशनमार्फत जेनजीसहित युवाहरूको उल्लेख्य प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरे बमोजिम गृहकार्य भइरहेको छ । वर्तमान जटिलतालाई चिरेर सामाजिक न्याय सहितको समृद्ध नेपाल निर्माणका पक्षमा दशैंजस्ता सांस्कृतिक अन्तर्घुलनका पर्वहरूले प्रेरणा दिने विश्वास व्यक्त गर्दछु ।’

जनयुद्धदेखि संविधान निर्माण र कार्यान्वयनसम्म निर्वाह गरेको जिम्मेवारीलाई निरन्तरता दिँदै वर्तमान तरल परिस्थितिलाई अग्रगामी रूपान्तरणतर्फ अघि बढाउन नेकपा माओवादी केन्द्र प्रतिबद्ध रहेको समेत उनले बताए ।

उनले भने, ‘यतिखेर हामी नेपाली जनताका महान् संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै अधुरा रहेका अग्रगामी रूपान्तरणका मुद्दाहरूलाई गम्भीर आत्मसमीक्षासहित सम्बोधन गर्नैपर्ने जटिल राजनीतिक परिस्थितिमा छौं । हामीले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी लगायतका संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका मुद्दा अहिले फेरि मुखरित भएका छन् । यो परिस्थितिमा महान् जनयुद्धदेखि संविधान निर्माण र कार्यान्वयनसम्म निर्वाह गरेको जिम्मेवारीलाई निरन्तरता दिँदै वर्तमान तरल परिस्थितिलाई अग्रगामी रूपान्तरणतर्फ अघि बढाउन नेकपा माओवादी केन्द्र प्रतिबद्ध रहेको छ ।’

सबै नेपालीलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक पुनर्मिलन र शोकलाई शक्तिमा बदल्ने प्रेरणा प्रदान गर्ने विश्वास लिँदै दशैं लगायतका पर्वहरूलाई सामाजिक एकता र अग्रगमनका पक्षमा संकल्प सहित मनाउन उनले आह्वान गरेका छन् ।