एकीकृत समाजवादीसहित ६ पार्टीसँग एकता प्रक्रिया अगाडि बढाउने माओवादीको निर्णय

एकीकृत समाजवादीसहित ६ पार्टीसँग एकता प्रक्रिया अगाडि बढाउने माओवादीको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहित ६ वटा पार्टीहरूसँग एकताको प्रक्रिया चाँडै अगाडि बढाउने भएको छ ।

माओवादी प्रवक्ता अग्नि सापकोटाले शनिबार बसेकोे सचिवालय बैठकले एकता प्रक्रियालाई चाँडै टुंग्याउने निर्णय गरेको जानकारी दिए ।

पार्टी कार्यालयमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘हाम्रो आजको बैठकको एजेण्डा पार्टी एकता थियो । पार्टी एकतामा वैचारिक, राजनैतिक, सैद्धान्तिक, नीतिगत कुराहरू करीब टुंगो लगाइसकेको छौं । आज खासगरी प्राविधिक र सांगठनिक विषयमा छलफल केन्द्रित भएको छ । छलफल र पार्टी एकतामा आउने सम्भावनामा एकीकृत समाजवादी, महेन्द्रराय यादवको नेसपा, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्कीको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टीसँग भएको छ र भर्खरै नेकपाबाट विद्रोह भएको चिरण सीसँग पनि कुराकानी भईरहेको छ ।’

नेकपा समाजवादी र विप्लव नेतृत्वको नेकपालाई पनि सँगै ल्याउने प्रयास गरेको उनले बताए । उनले भने, ‘हामीले विप्लव सीको पार्टीलाई सँगै ल्याउने प्रयत्न गरेको हो, यता एकीकृत समाजवादी पार्टीलाई सोलेडोले ल्याउन प्रयत्न गरेको कुनै कसूर राखेको छैन । उहाँहरूको आफ्नो निर्णय निर्णायक हुन्छ । हाम्रो प्रयत्नले पुगेन ।’

उनले अब एकता गर्न ढिलो गर्न नहुने भन्दै ढिलो भए राष्ट्रिय राजनीतिमा पहल कदमी कमजोर हुने बताए । ‘हामी आज के निष्कर्षमा पुग्यौं भने अब एकता गर्न ढिलो गर्नु हुँदैन । एकता ढिलो गरियो भने राष्ट्रिय राजनीतिमा हाम्रो पहल कदमी कमजोर हुन्छ,’  उनले भने ।