काठमाण्डु – नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाउनु आपराधिक आक्रमण भएको बताएको छ ।
माओवादी केन्द्रले लुम्बिनी प्रदेशसभा सदस्य वलीलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाएको भनिएको घटनालाई लोकतन्त्र, राजनीतिक, मानव अधिकार र व्यक्तिगत स्वतन्त्रतामाथिको लज्जास्पद निकृष्ट र आपराधिक आक्रमण भएको बताएको हाे ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने “हाम्रो पार्टी यो घटनाको भत्सर्ना एवं निन्दा गर्दछ ।” प्रदेशसभा सदस्य वलीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै आफूलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाइएको बताएकी थिइन्।
लुम्बिनी प्रदेश सरकार र नेकपा (एमाले)ले भने प्रदेशसभा सदस्य वलीको भनाइलाई अस्वीकार गर्दै खण्डन गरेको छ । तत्कालीन नेकपाबाट निर्वाचित प्रदेशसभा सदस्य वली एमाले र माओवादी केन्द्र छुट्टिएपछि माओवादीमा नै रहेकी छन् । माओवादी केन्द्रले राजनीतिको यस हदसम्मको भ्रष्टीकरणबाट मुलुकलाई बचाउन सबै लोकतान्त्रिक र वैधानिक उपायका लागि अपिल गरेको छ ।
यस्तै बैठकले संविधान र कानूनका आधारमा सुकुम्बासी, अव्यवस्थित बसोबासलगायत समस्या समाधानका लागि अबिलम्ब उच्चस्तरीय आयोग गठन गर्न सरकारसँग माग गरेको छ । अधिकारसम्पन्न आयोगले मात्रै सुकुम्बासी, भूमिहीनलगायतको समस्या समाधान गर्ने माओवादी केन्द्रको ठहर छ ।




प्रतिक्रिया