काठमाण्डु – सरकारलाई दिएको समर्थन फिर्ता लिन नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बैठक बिहान ११ बजे बोलाइएको छ ।
माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वलाई दिएको समर्थन फिर्ता नलिएको भन्दै आलोचना भइरहेको बेला माओवादीले समर्थन फिर्ता र नयां सरकार गठनबारे छलफल गर्न बैठक बोलाएको हो । बैठकमा पछिल्लो राजनीतिक अवस्थाका साथै पार्टीको विधान प्रतिवेदनबारे समेत छलफल हुनेछ ।
नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेसंगै माओवादी केन्द्र समर्थन फिर्ता लिन कस्सिएको हो । सरकारको राजीनामा मागेको तर आफैले सरकारलाई समर्थन जारी राखेको भन्दै माओवादीको चर्को आलोचना भएको थियो ।
माओवादीले समर्थन फिर्ता लिए आफुले राजीनामा दिने प्रधानमन्त्री ओलीले बताइसकेका छन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिएसंगै ओली नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । ३० दिनभित्र विश्वासको मत लिन नसके नयां सरकार गठनको प्रक्रिया सुरु हुनेछ । त्यसमा पनि संसदमा बहुमत प्राप्त सबैभन्दा ठुलो दलले सरकार गठनको लागी अवसर पाउनेछ । प्रधानमन्त्री ओलीले फेरी सरकार आफ्नै नेतृत्वमा गठनका लागी पहल गर्नेछन् । प्रधानमन्त्री ओलीलाई जसपाले समर्थन गर्ने सम्भावना पनि छ ।
प्रधानमन्त्री ओली, जसपा र कांग्रेस तीनै दल निर्वाचनमा जाने विषयमा सकरात्मक छन् । यदि नयां सरकार बन्न नसकेको अवस्थामा संसद विघठन गरेर मध्यावधीमा जाने सम्भावना पनि रहेको स्रोतको दावी छ । त्यसमा कस्को नेतृत्वमा चुनाव हुन्छ भन्नेमा अन्यौल रहेको छ ।
माओवादी केन्द्रले कांग्रेस र जसपा मिलेर सरकार बनाउन प्रयास गरेपनि त्यसमा दुवै दलले रुची देखाएका छैनन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अविश्वसनिय छविले काम गरेको नेताहरुले आरोप लगाएका छन् ।




प्रतिक्रिया