काठमाण्डु – नेकपा माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने विषयमा सबै विकल्पमा खुला राख्ने निर्णय गरेको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सरकार गठनका सम्बन्धमा सबै विकल्पमा खुला गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए। सत्ता गठबन्धनलाई नछोड्ने तर सरकार निर्माणका सन्दर्भमा अन्य दलसँग पनि परामर्श गर्ने निर्णय गरेको उनले बताए ।
अहिलेको गठबन्धन नतोड्ने तर सरकार निर्माणमा अन्य दलसँग पनि छलफल गर्ने विकल्पमा खुला रहने निर्णय भएको महराले बताए । माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सत्तारुढ गठबन्धनमा दबाब पुग्ने निष्कर्षसहित सरकार गठनका लागि एमालेसहितका अन्य विभिन्न दलहरूसँगको विकल्पलाई पनि खुला राख्ने नीति रणनीति लिएको छ ।
बैठकमा नेताहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षा अनुसार नआएको टिप्पणी गरेका थिए । पदाधिकारी बैठक आइतबार दिउँसो २ बजे बोलाइएको छ ।




प्रतिक्रिया