४ महिनामा पनि खुलेन मार्तडी-कोल्टी सडक

४ महिनामा पनि खुलेन मार्तडी-कोल्टी सडक

नेतृत्व फेरियो तर बाजुरा फेरिएन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बाजुराको मार्तडी–कोल्टी सडकखण्ड अवरुद्ध भएको ४ महिना बितिसक्दा पनि खुल्न सकेको छैन् । असारदेखि अवरुद्ध भएको उक्त सडकखण्ड असोजको पहिलो सातासम्म पनि खुलेको छैन् ।

विजया दशमी नजिकिँदै गर्दा अहिले घर आउने मानिसको संख्यामा वृद्धि हुदै गएको छ । तर सडकखण्ड अवरुद्ध हुँदा स्थानीयले सास्ती खेप्नु पर्ने बाध्यता छ ।

अवरुद्ध बनेको सडकखण्ड खुल्न नसक्दा अहिले त्यस सडक भएर यात्रा गर्ने यात्रुहरूले निकै सास्ती खेप्नु पर्ने बाध्यता रहेको बडीमालिमा नगरपालिका ७ का स्थानीय हरिचन्द्र पाध्यायले बताए ।

अहिले दशै तिहारमा घर आउनेको भिड लागेको छ, तर सडकखण्ड अवरुद्ध हुँदा उनीहरूलाई यात्रा गर्न निकै कठिनाई हुने गरेको उनले बताए ।

सडकखण्ड अवरुद्ध भएको ४ महिना पुगिसक्दा पनि सञ्चालनमा नआउदा माथिल्लो क्षेत्रमा नागरिकले समस्या झेल्नु परेको छ ।

मार्तडी–कोल्टी सडकखण्डबाट माथिल्लो क्षेत्रका ४ वटा स्थानीय तह, हिमाली, स्वामिकार्तिक, जगन्नाथ र बुढिनन्दा त्यस्तै छिमेकी जिल्ला हुम्ला, मुगु, कालिकोट गरि करिब १७ बढी जिल्लाका नागरिक आउजाउ गर्ने गर्छन् । सडकखण्ड अहिलेसम्म सञ्चालनमा नआउदा यहाँका नागरिकलाई आवतजावतमा समस्या भएको हो ।

काम तथा पढाईका लागि बहिर गएकाहरू दशै तिहार मनाउन घर आउने नागरिकहरू बढिरहेका छन् । तर सडकखण्डको अवस्थामा निकै दर्दनाक छ । मार्तडीदेखि कोल्टीसम्म पुग्न पनि ६ वटा गाडी बदल्नु पर्ने अवस्थामा रहेको जगन्नाथ गाउँपालिका हुनीका स्थानीय सुरेन्द्र बिष्टले बताए ।

सडक खुल्न नसक्दा स्याउ कृषकलाई पनि स्याउ ढुवानीमा समस्या हुदै आएको छ । सडक नखुल्दा जिल्ला बाहिर निर्यात गर्न नसकिएको कृषकहरूको गुनासो छ । वर्षा सुरु भएसँगै ठाउँ–ठाउँमा पहिरो जाँदा अवरुद्ध बनेको सडक मर्मत कार्य नहुँदा किसानहरू बारीमै स्याउ कुहिने चिन्तामा छन् ।

यो वर्ष स्याउ राम्रो उत्पादन भएको भएपनि सडक बन्द हुँदा अरु वर्ष जस्तै यस पटक पनि बारीमै कुहिने हुन् कि भन्ने चिन्ता थपिएको पाण्डुसैनकी स्याउ कृषक विउरा बोहराले बताइन् । सडक अवरुद्ध हुँदा पिठ्युँमा बोकेर बजारसम्म जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलका अनुसार दशै तिहार अगावै सडक सञ्चालन गर्ने भनिए पनि सञ्चालनमा ल्याउन नसकिएको बताए । सडकखण्डको बीचबीचमा ठुला पहिरो गएकोले तत्काल पहिरो हटाउन नसक्दा सडक सूचारू गर्न नसकिएको उनको भनाइ छ ।

प्रशासनको तर्फबाट सडक सञ्चालनको लागि समन्वय, सहकार्य तथा पहल भइरहेको उनले दाबी गरे ।

ठेकेदारको चरम लापरबाहीका कारण मार्तडी–कोल्टी सडकखण्ड समयमै कालोपत्रे हुन नसक्दा वर्षेनी अवरुद्ध हुने गरेको छ ।

जिल्ला सदरमुकाम मार्तडीदेखि कोल्टीसम्म करिब ४२ किलोमिटर सडकखण्ड छ । मार्तडीदेखि खार चुथीसम्म ९ किलोमिटर त्यस्तै र खारदेखि ढम्कनेसम्म ६ किलोमिटर सडकखण्डमा अलि काम भए तापनि अन्य ठाउँमा सडकखण्डको कार्य अस्तव्यस्त छ । अहिले सडकखण्डको जिल्ली, रजातोली लगायत ठाउँमा ठुला पहिरो छन् भने बाउली, रजातेली, दानासाघु खोलामा पुल बन्न सकेका छैनन् ।

बाजुराको समस्यालाई सिंहदरबारसम्म पुर्‍याउने प्रतिनिधिको कमीले गर्दा बाजुरा सधैं पिछडिएको छ ।