नेपालको कला र संस्कृतिलाई विदेशमा पनि निरन्तरता दिनुपर्छः राजदूत पराजुली


मस्कट – ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले परदेशमा रहेर पनि नेपालको कला संस्कृति तथा परम्परालाई निरन्तरता दिन आग्रह गरेकी छन् ।

चाडवाडलाई लक्षित गरेर नेपाली राजदूतावास, मस्कटलमा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै राजदूत पराजुलीले विजया दशमी, तिहार, छठ तथा नेपाल सम्वत्को अवसरमा शुभकामना व्यक्त गरेकी हुन् ।

कार्यक्रममा राजदूत पराजुलीले नेपाली संगीत, कला, चलचित्रहरूले सकारात्मक सोचलाई बढावा दिने तथा समाज र राष्ट्र निर्माणमा समेत ठूलो योगदान दिन सक्ने विचार व्यक्त गरेकी छन् ।

राजदूत पराजुलीले पानसमा बत्ती बालेर कार्यक्रमको औपचारिक उद्घघाटन गरेकी थिइन् । नेपाली दूतावासका द्वितीय सचिव सोमेश थापाले उपस्थित अतिथिहरूलाई स्वागत गरेका थिए ।

कार्यक्रममा गायकद्वय सत्यराज आचार्य, स्वरूपराज आचार्य तथा नेपाली चलचित्र ए मेरो हजुर–३ लाई ओमनमा प्रदर्शन गर्न आएका उक्त चलचित्रका निर्देशक तथा प्रोड्युसर झरना थापा तथा सुनील थापा र नायिका सुहाना थापा लगायतको अतिथिहरू उपस्थित थिए ।

कार्यक्रममा ओमनमा बस्ने नेपाली तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले शुभकामना प्रदान गरेका थिए । स्थानीय नेपालीहरुले कार्यक्रममा विभिन्न साँगीतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा नेपालबाट आएका गायकद्वय सत्यराज आचार्य, स्वरूपराज आचार्यले बेजोड साँगीतिक प्रस्तुति दिएका थिए ।

नेपाली संगीतको प्रबर्द्बनमा सहयोग गर्ने तथा नेपाली भाषाको गित गाउने पहिलो अरबिक गायक हाइथम रफि, गायकद्वय सत्यराज तथा स्वरूपराजलाई राजदूतले नेपाली राजदूतावासको तर्फबाट मायाको चिनो प्रदान गरेकी थिइन् ।

श्रम सहचारी कृष्णा कुमारी गौलीले सञ्चालन गरेको उक्त कार्यक्रममा करिब १०० जना नेपालीहरू, नेपाली राजदूतावासका कर्मचारीहरू तथा कर्मचारी परिवारहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement