काेराेना नियन्त्रणका उपाय खाेज्न चार मन्त्रीकाे बैठक बस्याे, मास्कको उत्पादन बढाउने निर्णय

काेराेना नियन्त्रणका उपाय खाेज्न चार मन्त्रीकाे बैठक बस्याे, मास्कको उत्पादन बढाउने निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले कोरोना भाइरसका कारण बजारमा मास्कको हाहाकार बढेपछि उत्पादन बढाउने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिले मास्कको उत्पादन र आपूर्ति बढाउने निर्णय गरेको हो ।

नोभल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले उड्ययन क्षेत्रमा सावधानी अपनाउने निर्णय गरेको छ ।

बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसाल उपस्थित थिए ।

त्यस्तै प्रधानसेनापति पूर्णचन्द्र थापा, मुख्यसचिव लोकदर्शन रेग्मी सहभागी रहेको समितिले जानकारी दियो ।

बैठकले विमानस्थलमा प्रिफ्याब निर्माण गर्ने विमान सेवा कम्पनीलाई यात्रुको सुरक्षा जाँचका विशेष ध्यान र सावधानी अपनाउन निर्देशन दिने निर्णय गरेको बताइएको छ ।

कोरोनाको त्रास कम गर्न विश्व बैंकको सहायता लिने, सीमामा आवागमन कम गर्ने, थप स्वास्थ्य टोली खटाउने, प्रदेश सरकार र स्थानीय तहलाई आपूर्ति व्यवस्थाका लागि अनुरोध गर्नेलगायत निर्णय गरेको समितिले जानकारी दिएको छ ।

त्यस्तै निकासी नियन्त्रण गर्ने, सरकारसमेत मिलेर मास्क उत्पादन गर्ने, सीमा क्षेत्रमा दुईपक्षीय मिटिङ गर्ने निर्णय गरेको समितिले बताएको छ ।

त्यस्तै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा अहिलेसम्म संक्रमित नभएको र आशंका गरिएकोमा नेगेटिभ रिर्पोट देखिएको जानकारी दिएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले भारतले औषधि निर्यातमा रोक लगाएकोले त्यसलाई फुकाउन पहल गर्ने बताए ।

‘कोरोनाको संक्रमणका लागि उच्चस्तरीय बैठकमार्फत केही महत्त्वपूर्ण निर्णय गरेका छौं । आधारभूत औषधि अभाव हुन नदिन छिमेकी मुलुकले औषधि निर्यातमा रोक लगाएकोमा त्यसलाई फुकाउन आग्रह गर्ने र अन्य आपूर्तिमा कृत्रिम अभाव हुन नदिन पहल गर्ने निर्णय गरेका छौं । मास्कको आपूर्ति बढाउने र थप मास्क उत्पादन गर्न निजी क्षेत्रलाई समेत आह्वान गर्ने निर्णय गरेका छौं,’ मन्त्री खतिवडाले भने ।