मास्क कालोबजारी गर्नेमाथि कारबाही

मास्क कालोबजारी गर्नेमाथि कारबाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मास्कको कालोबजारी गर्ने औषधि व्यवसायीमाथि सरकारले कारबाही थालेको छ। मौकाको फाइदा उठाएर उपभोक्ता लुट्ने व्यवसायीसँग वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लाखौं रुपैयाँ जरिवाना असुल्न थालेको हो।

व्यवसायीले पाँच रुपैयाँ पर्ने मास्कलाई ६० रुपैयाँसम्ममा बेच्दै आएका छन्। कतिपय उपभोक्ताले यो मूल्यमा पनि मास्क किन्न पाएका छैनन्। व्यवसायीका अनुसार कोरोना भाइरसको त्रासका कारण मास्कको प्रयोग दर सयौं गुणा बढेको छ।

विभागको टोलीले बिहीबार महाबौद्ध र क्षेत्रपाटीमा सातवटा पसलमा गरेको अनुगमनमा चारवटा पसलबाट चार लाख ३० हजार रुपैयाँ जारिबाना गराएको छ। विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले व्यवसायीको चलखेलका कारण मास्क र ह्यान्ड सेनेटाइजरको कालोबजारी बढेको बताए।

विभागको टोलीले महाबौद्धस्थित आयुष फार्मेसीसँग दुई लाख, क्षेत्रपाटीस्थित आइज्याक हस्पिटेक सपोर्टसँग दुई लाख, एसजे मेडिको सर्जिकलसँग २० हजार र आरएफ फार्मेसीसँग १० हजार रुपैयाँ जरिवाना असुलेको छ। क्षेत्रपाटीको दीप सर्जिकल सप्लायर्सले मास्क राखेर पनि नभएको भन्दै छलेको थियो। पसलको गोदाममा नियमन गर्दा ४३ थान प्याकेट मास्क फेला परेको थियो। विभाग टोलीले प्रतिगोटा दुई रुपैयाँमा उक्त मास्क बिक्री गर्न लगाएको थियो।

‘अहिले बजारमा आपूर्ति निकै कम भएको छ,’ सुवेदीले भने, ‘स्वदेशी उत्पादनकर्ता कम्पनीसँग कच्चा पदार्थ नभएर उत्पादन भएको छैन। चीन र भारतबाट आउन बन्द भएपछि स्वदेशी बजारमा भण्डारण गरी राखिएका मास्क र ह्यान्ड सेनेटाइजरको कालोबजारी भएको हो।’ कालोबजारी गर्ने व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको जानकारी दिँदै सुवेदीले नियमनमा धेरै टोली खटाउँदा बजार झनै आतंकित हुने बताए।

गुनासो संकलन गर्न विभागले हट लाइन नम्बर ११३७ को व्यवस्था गरेको छ। मास्कको कालोबजारी भएको, व्यवसायीले कृत्रिम अभाव गरी अत्यधिक मूल्य असुल गरेको र व्यवसायीले बिक्री नगरेकोजस्ता विषयमा एक घण्टामै दुई सयवटा गुनासो उपभोक्ताबाट प्राप्त भएको छ।यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।