रौतहटको बोधीमाई र यमुनामाईको मतपेटिका लुटियो

रौतहटको बोधीमाई र यमुनामाईको मतपेटिका लुटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रौतहटका विभिन्न मतदान केन्द्रका मतपेटिका लुटिएको छ । मतदानको समय सकिएपछि जिल्लाका विभिन्न स्थानमा रहेका मतपेटिका लुटिएको र आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार बोधीमाई नगरपालिका वडा नं. २ मा तीन मतपेटिका लुटिएको र ती मतपेटिकामा आगजनी गरिएको छ । सो घटनामा एक जना प्रहरी पनि घाइते भएको बताइएको छ ।

यता यमुनामाई गाउँपालिका वडा नम्बर १ स्थित चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटपाट भएको छ । जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक–पटक झडप भएको थियो ।

मतदानस्थलमा हुलदंगा भइ आक्रोशित भिडले मतदान केन्द्र कब्जामा लिइ मतपेटिका नै लुटपाट गरेकाे मतदान अधिकृत हरि प्रसाद शर्माले जानकारी दिए ।

जिल्लामा धेरै मतदान केन्द्रमा मतपेटिका लुट्ने र आगजनी भई रहेकाले सुरक्षा निकाय व्यस्त रहेका कारण सबै स्थानको विवरण आई नसकेको प्रहरीले जनाएको छ ।