तरकारी र फलफूलमा तयारीका साथ विषादी परीक्षण गछौं : मन्त्री बाँस्कोटा

तरकारी र फलफूलमा तयारीका साथ विषादी परीक्षण गछौं : मन्त्री बाँस्कोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनस्वास्थ्य र नागरिकको अधिकारसँग जोडिएको विषयमा नेपाल सरकार गम्भीर भएकाले भारतबाट आउने तरकारीमा विषादी परीक्षणको विषय थप तयारीका साथ देशको हितमा हुने गरी कार्यान्वयन गरिने बताएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान सम्पन्न मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरुको जिज्ञासामा मन्त्री बाँस्कोटाले सोका लागि नेपालको प्राविधिक क्षमता र देशभित्रको उत्पादन क्षमता वृद्धि गर्नेतर्फ लाग्ने जनाउँदै आफूहरु बाह्य पक्षबाट प्रभावित नभई देश हितको पक्षमा गम्भीर हुने प्रष्ट गरे ।

उनले भने, “सीमापार व्यवसायमा दुवै देशको हित र चासोका कुराहरु हुनसक्छन, पत्रहरु आदानप्रदान हुनसक्छन, हाम्रो पनि चासो छ, जनस्वास्थ्यको विषय व्यापार मात्र होइन दुवै देशका नागरिकको स्वस्थ खाना पाउनुपर्ने अधिकारको विषय हो, हामी क्रमशः नेपाललाई अग्र्यानिक राष्ट्र बनाउने भनिरहेका छौँ, हाम्रो उत्पादन क्षमता बढाउनु मूल प्रश्न हो ।”

उनले बैठकमा विभिन्न विषयमा छलफल भए पनि त्यस्तो महत्वपूर्ण निर्णय नभएको र नियमित सरुवा, बढुवा तथा केही विधेयकका विषयमा छलफल गरेर बैठक सकिएका बताउँदै भएका निर्णय नियमित पत्रकार सम्मेलनमार्फत सार्वजनिक हुने जानकारी दिए । मन्त्रिमण्डल हेरफेरका बारेमा सोधिएको प्रश्नमा उनको जवाफ थियो– “यो प्रधानमन्त्रीको नितान्त विशेषाधिकार हो ।”