काठमाण्डु- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ।
गभर्नर डा. विश्व पौडेलले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दैछन् ।
राष्ट्र बैंकले ५९औं मौद्रिक नीति ल्याउन लागेको हो । यस प्रयोजनका लागि बिहीबार साँझ नै मौद्रिक नीतिको प्रस्ताव सञ्चालक समितिको बैठकमा पेस गरिएको थियो । बैठकले बिहीबार मौद्रिक नीतिको भूमिकामा छलफल गरेको थियो ।
यसपटक बजेटसँग समेत तादम्य हुनेगरी उदार मौद्रिक नीति ल्याउने तयारी छ । न्यून ब्याजदर हुँदा पनि कर्जाको माग बढ्न नसक्दा बैंकमा तरलता थुप्रिएको छ। अर्थतन्त्र पूर्णरूपमा चलायनमान भइसकेको छैन । यस्तो अवस्थामा कर्जाको माग बढ्ने तथा अर्थतन्त्र चलायमान हुने गरी केन्द्रीय बैंकले मौद्रिक नीति तयार गरेको बताइएको छ।
मौद्रिक नीतिमा बैंक तथा वित्तीय क्षेत्र सुधारका लागि विभिन्न महत्त्वपूर्ण उदार प्रावधानहरू समेटिने तयारी भएको छ। राष्ट्र बैंक स्रोतका अनुसार नयाँ बैंक स्थापना तथा लाइसेन्स खोल्न दिने, विदेशी साझेदारीमा बैंक खोल्न अनुमति दिने, वाणिज्य बैंकहरूको वर्गीकरण गरी असल बैंकलाई स्वनियमनमा राख्ने तथा कमजोर बैंकलाई मात्र कडाइका साथ नियमन गर्ने व्यवस्था नीति मसौदामा समावेश गरिएको छ।
त्यस्तै, ऋण प्रवाहका मापदण्डहरूमा व्यापक पुनरावलोकन गर्दै, तरलता व्यवस्थापनका उपायहरू थप लचिलो बनाइने र वित्तीय बजारको स्थायित्वलाई ध्यानमा राख्दै उदार मौद्रिक नीति ल्याइने तयारी छ।
नयाँ मौद्रिक नीति सार्वजनिक भएसँगै, आगामी वर्षको बैंकिङ, वित्तीय, कर्जानीति तथा बजारको समग्र दिशा निर्धारण हुने अपेक्षा गरिएको छ।




प्रतिक्रिया