काठमाण्डु- मौरीपालन विकास कार्यक्रम भण्डारले मौरीपालक किसानलाई उन्नत जातको मौरीको रानो सहुलियत मूल्यमा वितरण सुरु गरेको छ । कार्यालयले यस वर्ष एक हजार २६० रानो वितरण गर्ने लक्ष्य राखेको जनाएको छ ।
कार्यालय प्रमुख सुजन अंगाईका अनुसार हालसम्म ९५ किसानलाई ५१२ रानो वितरण गरिसकिएको छ। वितरण गरिएका रानोमध्ये १३९ वटा कार्यालयमै उत्पादन गरिएको हो भने ३७३ वटा विभिन्न मौरी फार्मबाट ल्याइएको उनले जानकारी दिए । कार्यालयले हरेक वर्ष किसानलाई उन्नत जातको रानो उत्पादन गरी वितरण गर्दै आएको छ ।
उनले उन्नत जातको रानोको प्रयोगले नश्ल सुधार हुनुका साथै मह उत्पादनमा वृद्धि हुने बताए । साथै विभिन्न कारणले मौरीको रानो बुढो हुने, मर्ने, रोग लाग्ने तथा काम गर्ने क्षमता घट्ने समस्या देखिने पनि जानकारी दिए ।
सामान्यतया रानोको आयु तीनदेखि पाँच वर्षसम्म हुने भए पनि अधिकांश किसानले प्रत्येक वर्ष रानो प्रतिस्थापन गर्ने गरेको उनको भनाइ छ ।
कार्यालयले किसानलाई ‘ग्राफ्टिङ’ प्रविधिबाट उन्नत जातको रानो उत्पादनसम्बन्धी तालिमसमेत सञ्चालन गरिरहेको छ । हाल जिल्लाका १६ किसानलाई उक्त तालिम दिइरहेको कार्यालयले जनाएको छ ।
अंगाईका अनुसार तालिमपछि किसानले आफ्नै घरमा उन्नत जातको रानो उत्पादन गर्न सक्ने भएकाले मह उत्पादनमा थप वृद्धि हुने अपेक्षा गरिएको छ ।
यस वर्ष कृत्रिम प्रविधिबाट १० वटा मौरीका रानो उत्पादन गरिएकोमा चार वटा मात्रै बाँच्न सफल भएको उनले बताए । आगामी दिनमा सो प्रविधिबाट थप प्रभावकारी रूपमा रानो उत्पादन गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।




प्रतिक्रिया