देशभर मनसुनी झरी : यी प्रदेशमा भारी वर्षाको सम्भावना,सतर्क रहन आग्रह


काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले देशैभर वर्षा भइरहेको छ ।

यसका साथै भारतको उत्तरपूर्वी उत्तर–प्रदेश तथा उत्तर–पश्चिम बिहार आसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेकाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

रातिका समयमा पनि कर्णाली, सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको माहाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि निरन्तर हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

भारी वर्षाका कारण दीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement