काठमाण्डु – हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी प्रदेशका धेरै ठाउँमा मनसुनी वायुको प्रभाव रहेकोले त्यस क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको छ । मनसुनी वायु पूर्वमा सक्रिय छ ।
देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै सर्लाहीको परवानीपुरमा ५६ दशमलव २ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै मोरङमा २९ दशमलव ६, सिन्धुलीमा २५ दशमलव ८ र उदयपुरमा २४ दशमलव २ मिलिमिटर वर्षाको मापन भएको छ ।
यसैगरी जनकपुर, महोत्तरी, रौतहट, सिराहा, धनुशा ,सप्तरी, सुनसरी , मोरङ, रामेछाप, सोलुखुम्बु र आसपासका ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ ।
काठमाण्डु उपत्यका र आसपासका क्षेत्रमा पनि गएराति छिटपुट वर्षा भएको छ । बुधबार दिउँसो देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
कोशी र मधेसमा धेरै वर्षा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
बिहीबार पनि नेपालको धेरै ठाउँमा वर्षाको सम्भावना रहेको र शुक्रवारदेखि ३–४ दिन पानी नपर्ने र सुक्खा हुने अनुमान रहने अनुमान छ ।




प्रतिक्रिया