काठमाण्डु – मौसम बदली भएसँगै ठाउँठाउँमा परेको वर्षाका कारण क्रमशः तापक्रम केही घट्न थालेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी क्षेत्रमा यो दुई दिन अलि बढी वर्षा भएकाले तापक्रम घटेका छ। अन्य क्षेत्रमा तातो नै रहे पनि क्रमशः केही घट्ने जनाइएको छ।
महाशाखाका मौसमविद् रोजन लामिछानेले पूर्वमा तापक्रम घटिसकेको र पश्चिमतर्फ अझै तापक्रम बढी नै रहे पनि क्रमशः घट्ने क्रममा रहेको बताए। पूर्वमा भन्दा पश्चिम क्षेत्रमा बढी तातो हुने पनि उनले जानकारी दिए।
मौसमविद् लामिछानेले पछिल्लो केही घण्टामा काठमाडौं उपत्यकासहित झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ खोटाङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, काभ्रे, नुवाकोट, गोरखा र मकवानपुरमा वर्षा भएको जानकारी दिए। यो क्रम बिहीबार र शुक्रबार पनि जारी रहने छ। जसकारण बुधबारको भन्दा बिहीबार र शुक्रबारको तापक्रममा गिरावट आउने पनि उनले बताए।
कोशी, मधेस, बाग्मती प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी, मधेस, बाग्मती प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ ।
दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेश प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको पनि सम्भावना रहेको छ ।
ठूलो र देशैभरि एकैनासको वर्षा गराउने प्रणाली भने नभएको पनि महाशाखाले जनाएको छ, तर पनि दिउँसोको समयमा भने गर्मी नै महसुस हुने जनाइएको छ।
वर्षा गराउने प्रणाली दक्षिण–पश्चिमतर्फ सर्दै गइरहेकाले आसपासका क्षेत्रमा समेत मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा समेत हल्का वर्षा भएको र बाँकी स्थानहरूमा समेत बदलीको क्रम बढ्दै वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ।




प्रतिक्रिया